टक्सार महाशाखामा ब्रेक सुबाट सुन छुट्याउन थालियो (तस्बिरहरु)



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको एक क्विन्टल सुन ब्रेक सुबाट छुट्याउने प्रक्रिया सुरु भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बरामद सुन जोख्न पत्र लेखेपछि सोमबार दिउँसोबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सुन छुट्याउने प्रक्रिया थालेको हो ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट सुन छुट्टयाउने प्रक्रिया सुरु भएको जानकारी दिए । विभागमा राष्ट्र बैंक, सीआईबी र राजस्वका प्रतिनिधि आएसँगै सुन छुट्याउने प्रक्रिया सुरु भएको हो ।

सुन छुट्याएर आज सकियो भने जोख्ने काम एकैदिनमा सकिने र त्यसपछि गाल्ने प्रक्रिया सुरु हुने उनले बताए । राजस्व अनुसन्धान विभागले साउन २ गते सिनामंगलबाट ट्याक्सिमा लगिन लागेको अवस्थामा‘ब्रेक सु’ बरामद गरेको थियो ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेपछि राजस्व अनुसन्धानले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको छ । सीआईबीले संगठित अपराध र राजस्व छली कसुरमा अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु