सामान्य प्रशासनमन्त्री अनिता देवीले लिइन् शपथ



काठमाडौं । जनमत पार्टी पनि सरकारमा समेल भएको छ । जनमतकी सांसद अनितादेवी साहले केहीबेरअघि मन्त्री पदको शपथ ग्रहण गरेकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा मन्त्री साहलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए ।

यसअघि माओवादी केन्द्रका अमनलाल मोदी सामान्य प्रशासनमन्त्री थिए । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि मोदीलाई माओवादीले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।

यसअघि पनि जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो । प्रतिनिधिसभामा जनमतका ६ सांसद छन् ।


रवि धिताल