संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

सभामुखले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्वन भएको जानकारी गराउनेछन् ।

त्यस्तै, प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनका लागि प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराइनेछ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी, प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर हुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१३ को उपनियम १ बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची छ ।


रवि धिताल