निजी क्षेत्र, गभर्नर र बैंकरसँग अर्थमन्त्रीको बैठक, अर्थतन्त्र चलायमान बनाउने विषयमा छलफल

392
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान गराउने विषयमा निजी क्षेत्रका तीनवटा संगठन, नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स संघका अध्यक्षसँग छलफल गरेका छन् ।

मन्त्री महतले ब्याजदर घटाउँदै आर्थिक गतिविधि कसरी बढाउने भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री महतलाई अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

मन्त्री महतले बोलाएको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार पोषराज पाण्डे, अर्थ सचिव अर्जुन पोखरेल, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुख भुपाल बराल, महासंघका अध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र बैंकर्स संघका अध्यक्ष सुनिल केसी सहभागी थिए ।

छलफलमा निजी क्षेत्रले ब्याजदर घटाउने गरी र चालु पुँजी कर्जामा लचिलो हुने गरी नीति लिन माग गरे । कार्यक्रममा अर्थमन्त्री महतले अर्थतन्त्र चलातमान गराउने गरी उद्योगी व्यवसायीका समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिए ।

कार्यक्रममा महासंघका अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले अर्थतन्त्र सुधार गर्न काम गरिरहेको छ भन्ने म्यासेज दिने गरी सक्रियता देखाउनुपर्ने बताए । `अहिले बजारमा मन्दी छ,´ ढकालले भने, `सरकार र राष्ट्र बैंकले काम गरिरहेको छ भन्ने म्यासेज दिन जरुरी छ ।´

परिसंघका अध्यक्ष अग्रवालले सरकार र राष्ट्र बैंकले तत्कालै अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्न नसके कयौं उद्योग व्यवसाय धराशयी हुने बताए । छलफलका क्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले निजी क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री महतले साँझ साढे ५ बजे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई समेत छलफलका लागि बोलाएका छन् ।