भन्सारमा अहिले जे छोए पनि सुन निस्किन्छ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो सुन अवैधरुपमा भित्रिरहेको दाबी गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले दिनकै सय किलो सुन विभिन्न भन्सारबाट अवैध तरिकाले नेपाल भित्रिरहेको बताएका हुन् ।

उनले अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गरे । ‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन अर्को आइटम सुन, जे ल्याउँदा नि सुन,’ ओलीले भने ।

उनले कतिपय भन्सारमा चेकजाँच नै नभएका कारण राजस्व कम उठेको उनको भनाइ छ । ‘अरु नाकाहरू चेक नै भएको छैन। राजस्व किन उठ्दैन, किनभने भन्सारबाट कारोबार नै हुँदैन,’ ओलीले भने ।

सुन तस्करी प्रकरणमा छानबिनका लागि आफूहरुले समिति बनाउन माग गरेको भए पनि सरकार पहिल्यै डराएको उनले बताए। तस्करीमा संलग्नता भए नभएको छानबिनले पुष्टि गर्ने उनले बताए । तर सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने उनले बताए ।

ओलीले वहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने बताए ।

ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर गएको वर्ष नै हेरिएको बताए । संसदीय समिति बहुमतको आधारमा रहने र सत्तापक्षले यो विषय छानबिन गर्न आवश्यक नरहेको बताउने उनको भनाइ छ ।

‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, उनले भने, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन’ उनले भने ।


क्लिकमान्डु