नमुना कार्य गरेर देखाउन मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता: प्रधानमन्त्री



चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नमुना कार्य गरेर देखाउन मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चितवनको भरतपुर–२२, पटिहानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको जानकारी गराए ।

‘सरकार सुशासन, न्याय र समृद्धिका लागि दृढ भएर लागेको छ,’ उनले भने, ‘नेपाल समृद्धिको यात्रामा अगाडि बढिसकेको छ, सुशासन कायम गरेर भ्रष्टाचार अन्त्य गर्न सरकार लागेको छ ।’

उनले बुढिगण्डकीलगायतका ठूला परियोजनाको निर्माण कार्य अगाडि बढ्न लागेको र एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत निकाल्ने गरी काम भइरहेको पनि जानकारी गराए ।

विदेश जाने युवा र स्वदेशभित्र नै केही उत्पादन गर्न चाहने युवाका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । शुक्रबार चितवन आएका प्रधानमन्त्री प्रचण्ड शनिबार पनि चितवन नै रहने सचिवालय स्रोतले जनाएको छ ।


रवि धिताल