अमेरिकी सहायतामा नेपालमा सञ्चालित आयोजनाको प्रगति समीक्षा
काठमाडौं । अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगति समीक्षा बैठक बसेको छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले निरन्तरता दिइरहेको द्विपक्षीय सहयोगको प्रसंसा गर्दै नेपाल-अमेरिका साझेदारीको स्मरण गरे ।
मन्त्री महतले नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण सडक, खानेपानी र सुधारका लागि प्रत्यक्ष सहयोग गर्ने ग्रामीण पूर्वाधार आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल गर्न अमेरिकी सहयोग परिचालन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै अमेरिकी राजदूत डिन थम्पसनले विकासका विभिन्न क्षेत्रमा नेपाल र अमेरिकाबीच लामो समयदेखि साझेदारी रहेकोमा सन्तुष्टि व्यक्त गरे ।
यूएसएआईडीको सहयोग सम्झौताअन्तर्गत सञ्चालित आयोजनाको आजसम्मका उपलब्धि, कोष प्रवाह, स्थानीय संस्थाको उपयोगमा बजेटमा बढेको जोड साथै यस अवधिमा भूमिका र जिम्मेवारी स्पष्ट गर्दै नेपाल र अमेरिकाबीचको साझेदारीलाई सुदृढ पार्नु समीक्षा बैठकको उद्देश्य थियो ।
बैठकमा अर्थ सचिव अर्जुनप्रसाद पोखरेल, यूएसएआईडीका मिसन निर्देशक सेपिदेह किभनसाद, मन्त्रालयका अधिकारीहरू, यूएसएआईडीका पदाधिकारीको पनि उपस्थिति थियो ।
विकास उद्देश्य सम्झौता (डीओएजी) बाट गत वर्ष नेपाल र अमेरिकाबीच भएको द्विपक्षीय छाता सम्झौतामा पाँच वर्षको अवधिमा ६५ करोड ९० लाख अमेरिकी डलर उपयोग गर्ने उद्देश्यले नेपालको बजेट प्रणालीबाट अमेरिकी सहायता प्रयोग गर्ने व्यवस्था छ ।