बेलायती खुद्रा विक्रेता विल्को धराशयी, बाह्र हजार रोजगारी जोखिममा



एजेन्सी । बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशयी भएको छ ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले उच्च मुद्रास्फीति र ब्याजदरले उपभोक्ता र व्यवसायलाई असर पुर्‍याएको बताएका हुन् ।

करिब ४ सय स्टोरबाट सञ्चालित साथै अन्य साना घरेलु सामानको अतिरिक्त सरसफाइ र बगैंचासम्बन्धी उत्पादनको अनलाइन बिक्री गर्दै आएको विल्कोले कठिन मोडमा पुगेको जनाउँदै कम्पनीलाई नयाँ प्रशासनको जिम्मा लगाएको हो ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत ज्याक्सनले वेबसाइटमा एक खुला पत्रमा भनेका छन्, ‘हामी सबैले यो अविश्वसनीय व्यवसायलाई अक्षुण्ण राख्न कडा संघर्ष गरेका छौं तर समय समाप्त भएको छ भनेर स्वीकार्नुपर्छ ।’

उनले अब कम्पनीका प्रशासकहरूसँग काम गरेर सकेसम्म लामो समयसम्म धेरैभन्दा धेरै रोजगारी सुरक्षित राख्नका सबैभन्दा राम्रो गर्नुपर्ने बताए ।

विल्कोले सन् १९३० मा स्थापना भएको संकटग्रस्त कम्पनीको प्रशासकको रूपमा प्राइस वाटरहाउस कुपर्सलाई नियुक्त गरेको थियो । प्राइस वाटर हाउस कुपर्स लन्डनमा केन्द्रीय कार्यालय रहेको बहुराष्ट्रिय लेखा व्यवसायी फर्म हो ।


रवि धिताल