काठमाडौं । कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौं महानगरपालिका पुगेपछि तनाव सिर्जना भएको छ ।
काठमाडौं महानगपालिकाले बिहीबार दिउँसो डोजर लिएर खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको हो ।
काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको सात तले चोकनजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर उक्त स्थानका संरचना भत्काउन पुगेको थियो ।
तनाव उत्पन्न भएपछि नेपाल प्रहरीले महानगरपालिकाका डोजर चालकबाट डोजरको चाबी खोसेको स्थानीयको आरोप छ । उनीहरुले महानगरले गरेको काम राम्रो भएको र खहरे खोला मिचेर बनाइएका संरचनाहरु भत्काउनुपर्ने धारणा राखेका छन् ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदै छ भन्ने कुरा थाहा नदिइकनै काठमाडौं महानगरपालिका दलबलसहित फिल्डमा आएको बताए । उनले चोर बाटोबाट गरिएको निणर्यलाई आत्मसात् गर्न नसकिने तर्क गरे ।
काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगर प्रमुख बालेन्द्र साहको खहरे खोला मिचेर बनाएका संरचना भत्काउने आदेश रहेकाले भत्काएरै छोड्ने बताए । उनले बूढानीलकण्ठ नगरपालिकाले स्पष्ट हुँदाहुँदै पनि निहुँ खोजेको आरोप लगाए ।
स्थानीयले भने बूढानीलकण्ठ नगरपालिकाले खहरे खोलाको संरचना मिचेर घर बनाउन दिएकाले भत्काउनुपर्ने माग राखेका छन् । उनीहरुले मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने धारणा राखे । उनीहरुले भू-माफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको बताए ।
उनीहरुले खोला मिचेर संरचना बनाउनेहरुलै मात्रै महानगरको विरोध गरिरहेको बताए । बालबालिकालाई विद्यालय लैजान र ल्याउनका लागि पनि पानी परेको बेलामा जोखिम मोलेर आउने जाने गर्नुपरेको गुनासो गरे ।
प्रतिक्रिया