प्राधिकरणको नाफा १ अर्ब ४ करोडले घट्यो



काठमाडौं । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

गत वर्ष बढेको सुख्खायामले विद्युत उत्पादनमा गिरावट आउँदा प्राधिकरणको नाफा घटेको घिसिङले बताए ।

अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा प्राधिकरणको नाफा ७.७८ प्रतिशतले घटेको हो ।

घिसिङले ग्राहकलाई नियमित गुणस्तरीय विजुली दिने गरि प्राधिकरणले काम गरिरहेको दाबी गरे । देशभर ९५ प्रतिशत घरधुरीमा विद्युतीकरण पुगेको भन्दै प्राधिकरणले देशभर बिजुलि पुर्याउन काम गरिरहेको जानकारी दिए ।

काठमाडौं उपत्यका सहित देश भरका प्रमुख ११ शहरहरूमा सन २०५० सम्म बिजुलीको माग धान्ने गरि आवश्यक प्रशारण र बितरण प्रणाली बनाउन लागिएको घिसिङको भनाइ छ ।

प्राधिकरणको प्रबन्ध निर्देशक भएको दुई वर्ष पुगेको अवसरमा प्राधिकरणमा गरेका काममा विषयमा जानकारी दिन घिसिङले पत्रकार सम्मेलन गरेका हुन । घिसिङलाई २०७८ साउन २५ गते दोस्रोपटक प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी दिईएको थियो ।


रवि धिताल