निर्माण व्यवसायीको बिरोध कायमै



काठमाडौं । निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनशायका कारण निर्माण व्यवसायीहरुको समस्या भोग्नुपरेको बताउँदै बिरोध प्रदर्शन कायमै राखेका छन् ।

निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनशाय र कर्मचारीहरुको आफू टिकिरहनका लागि गरेको दुष्कर्म आफूहरुले भोग्नुपरेको बताएका छन् । बिहीबार निर्माण व्यवसायीहरु महासंघको कार्यालयमा भेला भइ संसद भवन अगाडि पुगेर कोणसभा गरेका छन् ।

कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती सरकारले गरेका गल्तीहरु सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरु खारेज नगरे देशमा निर्माण व्यवसायीहरुको आन्दोलन थप चर्किने चेतावनी दिए ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको पटकपटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको बताए । उनले सरकारले निर्माण व्यवसायीहरुलाई देखाएर निर्माण व्यवसायीहरुले काम गरेनन् भन्ने भ्रम मात्रै सिर्जना गरेको आरोप लगाए ।

उनले राजनीतिक नेतृत्वको गलत मनशायका कारण र कर्मचारीतन्त्र राजनीतिक नेतृत्वको दबाबमा आएर आफू टिकिरहनका लागि गरेको अनावश्यक कुकर्मबाट निम्तिएको समस्या निर्माण व्यवसायीहरुको खेपिरहनुपरेको बताए । निर्माण व्यवसायीहरुलाई धराशायी बनाउने काम नगर्न सरकारलाई चेतावनी समेत दिए ।


क्लिकमान्डु