यी हुन् मन्त्रिपरिषद बैठकका १३ निर्णय



काठमाडौं । मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरु योजना स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत निर्णय पनि गरेको छ । त्यस्तै बैठकले मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई स्विट्जरल्यान्डको जुरिचमा भदौ १५ देखि १६ सम्म हुने को-अपरेस इन फाइनान्सिङ, सोसल हुमानिटेरियर, पीपीपी एन्ड ग्रिन प्रोग्राम्स लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मन्त्री शर्माले हेटौंडा-ढल्केवर-इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाको सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र मकवानपुरमा प्रसारण लाइनको अधिकार क्षेत्रभित्र पर्ने जग्गा र संरचनाको क्षतिपूर्ति निर्धारण गर्न समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय गरिएको पनि जानकारी दिइन् ।

मन्त्रिपरिषद बैठकले अमन चौधरी(अग्रवाल)ले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट मिति २०७७ कात्तिक २५ मा प्राप्त गरेको वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र र सोफिया रुथ भण्डारीले झुटा विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट २०७९ साउन २६ मा वंशजको आधारमा लिएको नागरिकता रद्द गरी संलग्न व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । त्यस्तै भदौ १९ र २० मा स्विडेनमा हुने इन्गेजिङ इण्डिजेनियस् पिपुल इन इलेक्सन्स कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तलाई स्वीकृति दिएको छ ।

चिनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ सम्म आयोजना हुने सेभेन्थ चाइना साउथ एसिया एक्सपोजिसन र ट्वान्टी सेभेन्थ चाइन इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीन भ्रमण कार्यक्रमलाई समेत मन्त्रिपरिषद्ले स्वीकृति दिएको मन्त्री शर्माले बताइन् ।

उनका अनुसार सिइडिएडब्लू समिति सदस्यमा सन् २०२५-२०२८ अवधिका लागि नेपालको तर्फबाट बन्दना राणालाई तेस्रो कार्यकाल पुनः उम्मेदवार पेस गर्न स्वीकृति दिइएको छ । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आव २०८०/८१ मा आवश्यक पर्ने राजपत्रांकित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले माथिल्लो पिलुवाखोला जलविद्युत आयोजनाको लागि इन्टेक, अडिट र पावर हाउस लगायतका भौतिक संरचनाहरु निर्माण गर्न संखुवासभाको मादी नगरपालिका र चैनपुर नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा शर्तहरु पालना गर्नेगरी २५ वर्षसम्म प्रयोग गर्न दिने त्यहाँ रहेका रुखहरु हटाउन स्वीकृति दिएको छ ।

त्यस्तै माथिल्लो मोदी ए जलविद्युत आयोजनको भौतिक पूर्वाधारहरु निर्माण गर्न सर्तहरु पालना हुनेगरी कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १० घान्द्रुकमा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा ९.८५ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न तथा सो वन क्षेत्रमा रहेका रुख हटाउन स्वीकृति प्रदान गरेको छ ।

मन्त्रि शर्माले बैठकले नुम्चे लिखु जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइनको विभिन्न संरचना निर्माणका लागि तोकिएका सर्त पालना हुनेगरी गौरीशंकर संरक्षण क्षेत्रमा रहेको सरकारी वन क्षेत्रको जम्मा ३७.८५ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिन तथा वन क्षेत्रमा रहेका रुख हटाउन स्वीकृति दिएको पनि उल्लेख गरिन् ।


रवि धिताल