वीरगन्जका ३ जना मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । मालपोत कार्यालय वीरगन्जका तीन जना मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मालपोत अधिकृतहरु हरिनारायण मिश्र, सनदकुमार द्विवेदी ब्राह्मण र चन्द्रबहादुर भण्डारीसहित ६ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

मालपोत कार्यालयको रजिष्ट्रेसन फाँट क र ग बाट २०७३ साउन २ मा रजिष्ट्रेसन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिसविना न्यूनतम मूल्यांकनभन्दा कम मूल्य राखी राजस्व हिनामिना गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनदकुमार द्विवेदी ब्राह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नासु रामेश्वरप्रसाद साह र नासु लेखनाथ भट्टराईले फाँट ‘क’ बाट १७ वटा र फाँट ‘ग’ बाट २ वटा लिखत पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट ४ लाख २५ हजार ५३१ रुपैयाँ राजस्व चुहावट भएको देखिएको अभियोग पत्रमा उल्लेख छ ।

उनीहरुबाट भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ बमोजिमको कसुर गरेको देखिएकाले प्रतिवादी रामेश्वरप्रसाद साहलाई बिगो ३ लाख ८७ हजार २ रुपैयाँ र ऐनको दफा ३(घ) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्वर जरिवाना हुने रकम ७ लाख ७४ हजार ४ रुपैयाँमध्ये असुल भएको २२ हजार १९५ घटाएर ७ लाख ५१ हजार ८०९ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

त्यस्तै कमोद तिवारीलाई बिगो ११ हजार ७४७  रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ (क) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्वर २३ हजार ४९५ रुपैयाँ जरिवाना हुने, चन्द्रबहादुर भण्डारीलाई बिगो २ लाख ३९ हजार ४०४ रुपैयाँ कायम गरी सोही ऐनको दफा ३(घ) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्वर ४ लाख ७८ हजार ८०८ रुपैयाँ जरिवाना तोकिएको छ ।

अर्का प्रतिवादी लेखनाथ भट्टराईलाई विगो ३८ हजार ५२८ रुपैयाँ कायम गरी सोही ऐनको दफा ३(ख) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्वर जरिवाना गर्दा हुने रकम ७७ हजार ५७ रुपैयाँमध्ये दाखिला भएको रकम ३८ हजार घटाई हुने रकम ३९ हजार ५७ रुपैयाँ, प्रतिवादी हरिनारायण मिश्रलाई ६० हजार ७१९ रुपैयाँ विगो कायम गरी सोही ऐनको दफा ३ (ग) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्बर जरिवाना गर्दा हुने रकम १ लाख २१ हजार ४३८ रुपैयाँमा असुल भएको २२ हजार १९५ र असुल भएको ३८ हजार घटाएर हुन आउने रकम ६१ हजार २४३ रुपैयाँ जरिवाना माग दाबी गरिएको छ ।

त्यस्तै प्रतिवादी सनदकुमार द्विवेदी ब्राह्मणलाई १ लाख १३ हजार ७७८ रुपैयाँ विगो कायम गरी सोही ऐनको दफा ३ (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ७ बमोजिम विगोको दोब्बर हुने रकम २ लाख २७ हजार ५५६ रुपैयाँ जरिवाना मागदावी गरिएको छ ।


रवि धिताल