बजार अनुगमन तीव्र बनाउन मातहतका निकायलाई मन्त्री रिजालको निर्देशन



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा आज आयोजित ‘चामल लगायत अन्य दैनिक अत्यावश्यक खाद्यवस्तुमा भएको मूल्य वृद्धि, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति तथा बजारको नियमन’ सम्बन्धी विषयको समीक्षा कार्यक्रममा उनले अनुगमनलाई निरन्तरता दिन र  बजारमा कृत्रिम मूल्यवृद्धि हुन नदिन निर्देशन दिएका हुन् ।

मन्त्री रिजालले चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित र सर्वसुलभ बनाउन तथा बजारको अनुशासन कायम गर्न सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गरी कार्य गर्न निर्देशन दिएका छन् ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरू, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, मन्त्रालयका सहसचिवहरू तथा आपूर्तिसँग सम्बन्धित संस्थानका प्रमुखको उपस्थिति थियो । 

आसन्न चाडपर्वको समयमा खाद्यान्नको पर्याप्त उपलब्धता, दुर्गम क्षेत्रमा खाद्यान्नको आपूर्ति व्यवस्था तथा खाद्य सुरक्षा प्रत्याभूतिका लागि पर्याप्त मौज्दात राख्नेसम्बन्धी विषयमा समेत कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रममा बजार अनुगमन निर्देशिका २०७९ बमोजिम संयुक्त र विषयगत टोलीबाट बजारको नियमित अनुगमन गर्ने, कार्ययोजनासहित बजार अनुगमनलाई थप प्रभावकारी बनाउनेलगायत विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।


रवि धिताल