भारतको उत्तराखण्डमा पहिरोमा परी जुम्ला पातारासीका ११ जना बेपत्ता



काठमाडौं । भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी ११ नेपाली बेपत्ता भएका छन् । पहिरोले बसेको होटल बगाउँदा जुम्लाको पातारासीका ११ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा वडा नम्बर २ का ५६ वर्षीय धनराज बुढा, सोही वडाकी २२ वर्षीया चन्दा नेपाली र ३ नम्बर वडाका ४२ वर्षीय शुकराम रावत छन् । ‘अन्य बेपत्ताबारे जानकारी लिने प्रयास भइरहेको छ,’ पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले क्लिकमान्डुसँग भने ।

अरु नेपाली पनि बेपत्ता भएको जानकारी आएको उनले बताए । व्यापारका सिलसिलामा केदारनाथ पुगेका नेपाली बसेको होटल पहिरोमा परेको हो ।


रवि धिताल