क्रेडिट हिस्ट्री राम्रो भएका कर्पोरेटलाई बोलाइ बोलाइ ऋण दिँदै बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) थुप्रिएपछि बैंकहरुले त्रेडिट हिस्ट्री राम्रो भएका कर्पोरेटलाई बोलाइ बोलाइ कर्जा दिन थालेका छन् ।

आर्थिक गतिविधिमा आएको सुस्तता र महंगो ब्याजदरका कारण कर्जाको माग नहुँदा बैंकिङ प्रणालीमा ३ खर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता छ ।

अधिक तरलता हुँदा बैंकहरुको लागत बढ्ने भएपछि राम्रो हिस्ट्री भएका ऋणीलाई बोलाइ बोलाइ बोलाई कर्जा दिन थालिएको बैंकरहरु बताउँछन् । आर्थिक संकुचनका कारण खराब कर्जा बढ्ने भयले असारसम्म कर्जा असुलीमा केन्द्रित भएका बैंकहरुले साउन लागेपछि विभिन्न स्किम ल्याउँदा पनि कर्जा प्रवाह हुन सकिरहेको छैन ।

‘कर्जाको माग नभएकाले बैंकमा तरलता थुप्रिए पनि बैंकहरुले ऋण दिन सकिरहेका छैनन्, जसले गर्दा बैंकहरुको लागत मात्रै बढिरहेको छ,’ नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले क्लिकमान्डुसँग भने, ‘बैंकहरुले आफ्नो लागत कम गर्न क्रेडिट हिस्ट्री राम्रो भएका ठूलो ऋणीलाई बोलाइ बोलाइ ऋण दिइरहेका छन् ।’

साउन लागेपछि नविल बैंकले पनि केही कर्पोरेटलाई यसैगरी ऋण दिएको उनले बताए ।

‘क्रेडिट हिस्ट्री राम्रो भएका कर्पोरेट क्लाइन्टलाई साउनलागेपछि मात्रै नविल बैंकले ४÷५ अर्ब रुपैयाँ कर्जा दिइसकेको छ,’ ढुंगानाले भने, ‘अरु बैंकहरुले पनि अहिले यसै गरिरहेका छन् ।’

सरकारले ब्याजदर घटाउन ध्यान नदिँदा बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा पनि कर्जाको माग नभएको उनको भनाइ छ । स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नदिँदा बैंकहरुको लागत बढ्न गई ब्याजदर थप महंगो हुने उनले बताए ।

‘स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नदिँदा बैंकहरुको आधार दर ०.२७ प्रतिशतले महंगो भएको छ, यसले कर्जाको ब्याजदर पनि महंगो बनाएको छ,’ ढुंगानाले भने, ‘अर्थतन्त्र चलायमान बनाउन सकरकारले ब्याजदर केही सस्तो बनाउँछ भन्ने हाम्रो अपेक्षा थियो, तर त्यसो गरिएन ।’

बैंकहरुसँग सुझाब लिएर चालु पुँजी कर्जासम्बन्धी मागर्दशन पुनरावलोकन गर्ने घोषणा मौद्रिक नीतिले गरेको छ । तर, यस सम्बन्धी परिपत्र नआइसकेकाले चालु पुँजी प्रकृत्तिको कर्जाको माग पनि नभएको बैंकरहरु बताउँछन् ।

‘उद्योगको प्रकृत्ति हेरेर चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा भएको विद्यमान क्यास मार्जिन लगायतका व्यवस्थामा लचिलो बनाएपछि कर्जाको माग बढ्न सक्छ,’ अर्का एक बैंकरले भने, ‘कर्पोरेटलाई बोलाइ बोलाइ ऋण दिन बाध्य भएका छौं । ब्याजदरका कारण कतिपयले त ऋण लिनसमेत मान्दैनन् ।’

ऋण लिएर लगानी गर्ने क्षेत्र नभएकाले कतिपय ठूला ऋणीहरु बैंकले ऋणै लगिदिनु पर्यो भन्दा पनि अस्वीकार गरेर बसिरहेका छन् भने कतिपयले ऋण लगेका छन् ।

‘कुनै प्रोजेक्ट भए हामी ऋण दिन तयार छौं भनेर बैंकहरुबाट फोन आउन थालेको छ,’ व्यवसायी पशुपति मुरारकाले भने, ‘केही साथीहरुले लिइरहनु भएको छ, अहिलेसम्म मैले चाहीँ दिएको छैन ।’

केही नयाँ प्रोजेक्ट लिएर बसेका व्यवसायीहरुले भने अहिले सहजै कर्जा पाउने अवस्था सिर्जना भएको मुरारकाले बताए ।

‘विगत एक÷डेढ वर्ष बैंकहरु कर्जा नमागिदिए हुन्थ्योजस्तो व्यवहार गर्थे, अहिले ग्राहकको हिस्ट्री छानिछानि ऋण लिइदिनु पर्यो भन्न थालेका छन्,’ उनले भने ।

बैंकहरुले आधार दरमा ठूलो मार्जिन नै नराखी कर्जा प्रवाहका लागि विभिन्न स्किम ल्याएका छन् । कतिपय बैंकले एक अंकमै ब्याजदर तोकेका छन् । राष्ट्रिय वाणिज्य बैंकले ८.३४ प्रतिशतमै घर कर्जा उपलब्ध गराएको छ ।

त्यस्तै नबिल बैंकले ९.५२, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ९.५७ र एभरेस्ट बैंकले ९.९२ प्रतिशतमा घर कर्जा उपलब्ध गराउने जनाएको छ । नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र एभरेस्ट बैंकको अटो कर्जा पनि एकल अंकमै छ ।

तर पनि कर्जा बढ्न सकेको छैन । वैशाख २ यताका साढे ३ महिनामा वाणिज्य बैंकमा १ खर्ब २५ अर्ब निक्षेप थपिएको छ । समीक्षा अवधिमा निक्षेप ४८ खर्ब २२ अर्बबाट बढेर ४९ खर्ब ४७ अर्ब पुगेको छ । तर, कर्जा प्रवाह ९ अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको साउन १४ सम्मको तथ्यांकले देखाउँछ ।

साउनयताका १४ दिनमा कर्जा प्रवाह ऋणात्मक बनेको हो । साउन १ गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४३ खर्ब १२ अर्ब पुगेकोमा साउन १३ गते २० अर्बले ऋणात्मक बन्दै ४२ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ ।

नेपाल बैंकर संघका अध्यक्ष एवं एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बैंकहरुले स्किम ल्याएपनि अर्थतन्त्र सुस्त भएकाले कन्फिडेन्स नबढेका कारण कर्जाको माग बढ्न नसकेको बताउँछन् ।


क्लिकमान्डु