भारतले लगायो ल्यापटप, ट्याबलेट र कम्प्युटर आयातमा प्रतिबन्ध
एजेन्सी । स्वदेशमा नै बनेका उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भारतले ल्यापटप, ट्याबलेट र कम्प्युटर (पिसी)को आयातमा कडाइ गरेको छ । भारत सरकारले बिहीबार एक सूचनामार्फत भारतमा आयात हुने यी वस्तुका लागि अनुमति पत्र लिनुपर्ने वा सरकारको अनुमति लिएर मात्रै ल्याउन पाउने व्यवस्था गरेको हो ।
भारत सरकारले आफ्नो ‘मेक इन इन्डिया’ कार्यक्रमलाई प्रोत्साहन गर्न र स्थानीय उत्पादन बढाउन यो कदम चालेको जनाइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारको यो कदमले भारतमा नै यी सामग्रीको उत्पादन गरिरहेका स्वदेशी कम्पनी र भारतमा रहेर उत्पादनमा विशेष रुपमा काम गरिरहेका विदेशी कम्पनीलाई फाइदा पुग्ने देखिएको छ । भारत सरकारले आफ्नै देशमा उत्पादन गरेर त्यसलाई निर्यातमुखी बनाउन यस्तो कदम चालेको छ ।
हाल भारतमा अन्तर्राष्ट्रियस्तरका डेल, एचपी जस्ता कम्पनीले ल्यापटप र कम्प्युटरजस्ता सामग्री उत्पादन गरिरहेका छन् ।
भारतको वित्त मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘एसएसएन ८७४१ अनुसार ल्यापटप, ट्याबलेट, अल-इन-वान कम्प्युटर (पिसी) र अल्ट्रा स्मल फर्म फेक्टर कम्प्युटरको आयात प्रतिबन्धित हुनेछ ।’
यो प्रतिबन्ध विदेशबाट आउने यात्रुका लागि लागू हुने छैन । वा एउटा ल्यापटप वा कम्प्युटर वा ट्याबलेट ल्याउनेका लागि पनि लागू हुने छैन । ठूलो संख्यामा आयात गर्नेहरुका लागि भने यो लागू हुने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।