भ्रष्टाचार अभियोगमा बंगलादेशका विपक्षी नेतालाई ९ वर्षको जेल सजाय
एजेन्सी । बंगलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार ९ वर्षको जेल सजाय सुनाइएको छ ।
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई ९ वर्ष र उनकी श्रीमती जुबैदा रहमानलाई ३ वर्षको जेल सजाय सुनाइएको भ्रष्टाचार विरोधी आयोगका वकिल खुसिद आलम खानले एएफपीलाई बताएका छन् ।
नेता रहमानलाई आय लुकाएको र आफ्नो आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा ९ वर्षको जेल सजाय सुनाइएको हो भने उनकी पत्नीलाई पतिलाई दुरुत्साहन गरेको आरोपमा ३ वर्षको जेल सजाय सुनाइएको हो ।
बीएनपीका वकिल मसुद अहमद तालुकदारले यो सजाय ‘शत प्रतिशत राजनीति प्रतिशोधबाट प्रेरित’ भएको बताए । तारिक रहमानलाई ‘डिसेम्बर–जनवरीको आम चुनावअघि राजनीतिबाट टाढा राख्न’ यो मुद्दा चलाइएको उनको आरोप छ ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने र कामचलाउ सरकार गठन गरी निर्वाचनको पर्यवेक्षण गर्न दिन माग गर्दै बीएनपी र यसका सहयोगीले गत वर्षदेखि शृंखलाबद्ध विरोध प्रदर्शन गर्दै आएका छन् ।
वरिष्ठ प्रहरी अधिकारी रसानुल हक सैकतका अनुसार रहमान दम्पतीलाई सजाय सुनाएपछि ढाकास्थित पार्टी मुख्यालयबाहिर करिब १ हजार बीएनपी समर्थकले विरोध र्याली निकालेका थिए ।
पश्चिमा सरकारहरूले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । यहाँ सत्तारुढ दलले विधायिकामा प्रभुत्व जमाएको र यसलाई रबर स्ट्याम्पको रूपमा ‘भर्चुअल’ रूपमा सञ्चालन गरिरहेको आरोप उनीहरूले लगाउँदै आएका छन् ।