कर्जा प्रवाह ठप्पै भएपछि दबाबमा बैंकहरु, ब्याजदर घटाउँदा पनि आकर्षित भएनन् ऋणी



काठमाडौं । बैंकमा लगानीयोग्य रकम भए पनि कर्जाको माग नभएपछि बैंकहरु दबाबमा परेका छन् । आर्थिक संकुचनका कारण खराब कर्जा बढ्ने भयले असारसम्म कर्जा असुलीमा केन्द्रित भएका बैंकहरुले साउन लागेपछि विभिन्न स्किम ल्याउँदा पनि कर्जा प्रवाह हुन नसकेको हो ।

बैंकहरुले आधार दरमा ठूलो मार्जिन नै नराखी कर्जा प्रवाहका लागि विभिन्न स्किम ल्याएका छन् । कतिपय बैंकले एक अंकमै ब्याजदर तोकेका छन् । राष्ट्रिय वाणिज्य बैंकले ८.३४ प्रतिशतमै घर कर्जा उपलब्ध गराएको छ ।

त्यस्तै नबिल बैंकले ९.५२, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ९.५७ र एभरेस्ट बैंकले ९.९२ प्रतिशतमा घर कर्जा उपलब्ध गराउने जनाएको छ । नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र एभरेस्ट बैंकको अटो कर्जा पनि एकल अंकमै छ ।

तर पनि कर्जा लगानी बढ्न सकेको छैन । वैशाख २ यताका साढे ३ महिनामा वाणिज्य बैंकमा १ खर्ब २५ अर्ब निक्षेप थपिएको छ । समीक्षा अवधिमा निक्षेप ४८ खर्ब २२ अर्बबाट बढेर ४९ खर्ब ४७ अर्ब पुगेको छ । तर, कर्जा प्रवाह ९ अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको साउन १४ सम्मको तथ्यांकले देखाउँछ ।

साउनयताका १४ दिनमा कर्जा प्रवाह ऋणात्मक बनेको हो । साउन १ गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४३ खर्ब १२ अर्ब पुगेकोमा साउन १३ गते २० अर्बले ऋणात्मक बन्दै ४२ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उत्पादनशील क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राखेको छ । बैंकहरुले पनि उत्पादनशील क्षेत्रका साथै समग्र आर्थिक क्षेत्रलाई चलायमान गराउने घर कर्जामा केन्द्रित भएर विभिन्न स्किम ल्याए पनि कर्जाको माग बढेको छैन ।

नेपाल बैंकर संघका अध्यक्ष एवं एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी घर कर्जाले निर्माण क्षेत्र चलायमान हुँदा सिमेन्ट, इँटा, रड, ढुंगा, बालुवालगायतका सबै क्षेत्र र श्रम क्षेत्र पनि चलायमान हुने भएकाले घर कर्जामा केन्द्रित भएको बताउँछन् ।

‘बैंकहरुले स्किम नै ल्याएको त धेरै भएको छैन तर अर्थतन्त्र सुस्त भएकाले कन्फिडेन्स नबढेको हो कि भन्ने देखिन्छ,’ क्लिकमान्डुसँग उनले भने, ‘भर्खरै छ, एक-दुई महिना नहेरी टिप्पणी गरिहाल्न सकिन्न ।’ घर कर्जाबाहेक अन्य क्षेत्रको कर्जा पनि सुस्त नै रहेको उनले बताए ।

आइतबार बैंकहरुको कर्जा निक्षेप अनुपात ८३.२८ प्रतिशतमा झरेको छ भने बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ३ खर्ब ७७ अर्ब रूपैयाँभन्दा बढी छ ।


क्लिकमान्डु