परराष्ट्र मन्त्रालयले भन्यो- भारत र बेलायतबाहेक अन्य विदेशी सेनामा भर्ना अनुमति छैन
काठमाडौं । परराष्ट्र मन्त्रालयले भारत र बेलायतबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुने अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको स्पष्ट पारेको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी परम्परागत रुपमा सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा भर्नाको नीति नरहेको स्पष्ट पारेको हो ।
केही सार्वजनिक सञ्चारमाध्यममा समेत नेपाली नागरिक विदेशी सेनामा भर्ना भएका समाचार प्रकाशन/सम्प्रेषण भएपछि मन्त्रालयले ठगीबाट बच्न पनि आग्रह गरेको छ ।
‘कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरुमा सुरक्षासम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहनसमेत सबैमा सूचित गरिन्छ ।’
बेलायती र भारतीय सेनामा भर्ना हुन भने नेपालीलाई अनुमति छ । नेपालका नागरिकलाई विदेशी सेनामा भर्ती गराउने गरी ७२ वर्षअघि त्रिपक्षीय सन्धि भएको थियो । सन्धिमा नेपाली नागरिकलाई भारत र बेलायतको सेनामा भर्ती गरिने उल्लेख छ।
सन्धिमा नेपालका तत्कालीन प्रधानमन्त्री तथा सुप्रिम कमान्डर इन चिफ पद्मशमशेर जबराले भारत र बेलायतमा गोर्खा भर्तीलाई कायम राख्न दिने आधारका रूपमा ‘उनीहरूलाई भाडाका सैनिकका रूपमा नहेरिने हो भने’ भन्ने सर्त राखेको उल्लेख छ । अर्थात्, ती देशमा भर्ना हुने नेपालीहरु त्यहाँका राष्ट्रिय सैनिकको हैसियतमा रहन्छन् ।