गठबन्धनको सरकार बनाउन बहुमत नपुगेपछि सभामुखले दिए राजीनामा



विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । गठबन्धनको नेतृत्वमा सरकार गठनका लागि बहुमत पुर्‍याउन उनले पदबाट राजीनामा दिएका हुन् ।

उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् ।

गौतमलाई राजीनामा गराउनेबारे गठबन्धनमा छलफल भएको थियो भने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई राजीनामा दिन दबाब दिएका थिए ।

राजीनामा दिएपछि गठबन्धन दलको समर्थनमा कांग्रेसका नेता उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका दाबी पेस गर्ने तयारी गरेका छन् ।

उनको राजीनामाले गठबन्धन दल कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गर्न बहुमत पुगेको छ । माओवादी, कांग्रेससहितको गठबन्धनमा ४७ सिट पुगेको छ भने एमाले राप्रपाको पक्षमा ४६ सिट रहेको छ ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि थापालाई विश्वासको मतका लागि राप्रपाको समर्थन अपरिहार्य हुन्छ । तर राप्रपाले गठबन्धनको सरकारलाई समर्थन नगर्ने बताइरहदा ३० दिनपछि सरकारको आयु सकिन्छ र ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुने अवस्था बन्ने छ ।


क्लिकमान्डु