ओम साईराम कन्स्ट्रक्सनको आम्दानी ११ प्रतिशतले बढ्यो



काठमाडौं । ओम साईराम कन्स्ट्रक्सनको आम्दानी ११ प्रतिशतले बढेको छ । कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा सन् २०२२ मा ११ प्रतिशतले बढेको छ ।

सन् २०२२ मा ५६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२१ मा ५१ करोड ३० लाख रुपैयाँ र सन् २०२० मा ३३ करोड ९० लाख रुपैयाँको आम्दानी गरेको थियो ।

कोभिड अघिको तुलनामा हालसम्म आम्दानी गर्न नसकिएको कम्पनीले जनाएको छ ।

२०२१ मा १९.०७ प्रतिशतले नाफा कमाएको कम्पनीले सन् २०२२ मा १५.७३ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले सन् २०२२ मा ४० लाख रुपैयाँ नाफा कमाएको जनाएको छ । सन् २०२१ मा कन्स्ट्रक्सनले १ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

क वर्गको निर्माण व्यवसायी कम्पनी ओमसाई सन् २०१० देखि निर्माण सम्बन्धी कार्यमा संलग्न छ । कम्पनीले साना तथा ठूलो आयोजना जस्तै सडक बनाउने, भवन बनाउने, पुल बनाउने तथा खानेपानी क्षेत्रमा काम गर्दै आएको छ ।

कम्पनीले जोइन्ट भेन्चरमार्फत् पनि निर्माण क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ५४ करोड रुपैयाँको रेटिङ गराएको छ ।

विजयकुमार शाह प्रबन्ध निर्देशक रहेको कम्पनीसँग अहिले १ अर्ब ३६ करोड १० लाख रुपैयाँको आयोजना छ । उक्त आयोजनामध्ये ५८ प्रतिशत सडक क्षेत्रको आयोजना रहेको कम्पनीले जनाएको छ । त्यसबाहेक भवन र पुल सम्बन्धी अन्य आयोजना रहेको उल्लेख छ ।

कोभिड–१९ पछि आर्थिक मन्दी हुँदा निर्माण क्षेत्रले गति लिन सकेको छैन । अधिकतम मूल्य वृद्धि र सरकारले समयमै रकम भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायी उच्च मारमा परेका छन् ।


क्लिकमान्डु