हङकङ भन्सारलाई नेपालको पत्र: इलेक्ट्रोनिक सामान भनेर किन सुन पठाएको ?



काठमाडौं । बाइकको ब्रेक सु भन्दै ल्याइएको १ क्विन्टलभन्दा बढी सुनका विषयमा भन्सार विभागले हङकङ भन्सारलाई पत्र पठाएको छ ।

विभागले पत्र पठाउँदै इलेक्ट्रोनिक सामान भन्दै हङकङबाट सुन निर्यात गर्न कसरी दिइएको हो भन्दै हङकङ भन्सारलाई प्रश्न गर्दै पत्र पठाएको हो ।

नेपालमा सुन प्रतिबन्धित रहेको जानकारी हुँदा हुँदै इलेक्ट्रोनिक सामान भन्दै किन सुन निर्यात भएको भन्दै विभागले हङकङ भन्सारलाई मंगलबार पत्र पठाइएको थियो ।

‘इलेक्ट्रोनिक सामान भनेर सुन किन पठाइएको हो भनेर हामीले मंगलबार पत्र पठाएका हौं,’ भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने, ‘नेपालमा सुन प्रतिबन्धित छ भन्ने उनीहरुलाई थाहा हुँदा पनि अवैध तरिकाले कसरी आयो भन्नेबारे हामीले स्पष्ट पार्न भनेका हौं ।’

ब्रेक सु भन्दै ल्याइएको सामानमा सुन फेला परेपछि भन्सारले हङकङ भन्सारलाई सुनको भुक्तानी नभएको अवस्थामा त्यहाँको भन्सारबाट कसरी सुन आयो, किन जाँच भएन ? लगायतका प्रश्न विभागले गरेको हो ।

नेपालबाट भन्सार विभागले पत्र पठाएपछि हङकङको भन्सारले कागजपत्र माग गरेको उनले जानकारी दिए । नेपालले मंगलबार पठाएको पत्रमा हङकङ भन्सारले थप कागजपत्र माग गर्दै बिहीबार नेपाल भन्सारलाई पत्र पठाएको थियो ।

हङकङ भन्सारले नेपालको भन्सार विभागसँग ब्रेक सु आयातकर्ता रेडी ट्रेडर्सले नेपालको भन्सारमा पेस गरेको एयर बिल लगायतको कागजपत्र माग गरेको थियो ।

‘मंगलबार हामीले पत्र पठाएपछि उता(हङकङ) बाट कागजात माग्दै बिहीबार भन्सार विभागमा पत्र आएको थियो,’ महानिर्देशक पौडेलले भने, ‘रेडी ट्रेडर्सले नेपालको भन्सारमा पेस गरेको एयर बिल, भन्सारमा पेस गरेको परिपत्र, बिलबिजक, आयातकर्ता विवरण, भुक्तानी विवरण लगायतको कागजपत्र पठाउन आग्रह भएको थियो ।’

हङकङ भन्सारले माग गरे बमोजिमको काजपत्र शुक्रबार विभागले पठाएको उनले जानकारी दिए । ‘हामीले सोधेपछि माग भएका पुरक कागजपत्रहरु आज हामीले उता पठाएका छौं’ उनले भने ।

साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट पास भइसकेको ६ बाक्सा ब्रेक सु सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।


क्लिकमान्डु