अमेरिकी केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर, २२ वर्षयताकै उच्च



एजेन्सी । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले फेरि ब्याजदर बढाएको छ । पछिल्लो पटकको वृद्धिसँगै अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च बनेको छ ।

बढ्दो मूल्यवृद्धिको सामना गर्न फेडले बुधबार ०.२५ प्रतिशत विन्दुले ब्याज बढाएर ५.२५ बाट ५.५ प्रतिशत पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो वृद्धि सन् २००१ यताकै उच्च हो ।

अमेरिकामा मूल्यवृद्धि व्यापक बढ्न थालेपछि २०२२ को सुरुदेखि नै ब्याजदर बढाउन थालिएको हो । त्यसयता ११ पटक बढाइसकिएको छ ।

गत जुनमा उपभोक्ता मूल्य घटे पनि औसतमा वर्षभरिमा ३ प्रतिशत बढेको थियो । थप मूल्यवृद्धि हुनबाट रोक्न फेडले ब्याजदर बढाएको जनाएको छ । मूल्यवृद्धि २ प्रतिशतको सीमाभित्र राख्ने फेडको लक्ष्य छ । मूल्यवृद्धि नघटे आगामी महिना थप ब्याजदर बढ्न सक्ने जनाइएको छ ।

अर्थशास्त्रीय मान्यताअनुसार ब्याजदर वृद्धिले कर्जा लिन र लगानी गर्न महँगो हुने भएकाले वस्तु तथा सेवा श्रमको माग घट्छ भने समग्र मागमा आउने कमीले मूल्यवृद्धि घटाउँछ ।


क्लिकमान्डु