व्यावसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छः अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् ।

महासंघको वस्तुगत परिषदले आयोजना गरेको कार्यक्रममा उनले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त नहुने हुँदा व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा राखे ।

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले कार्यक्रम राखेको हो । कार्यक्रममा अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढाउन सदस्य वस्तुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे ।

‘हाम्रा सदस्य वस्तुगत संघहरू महासंघका बलिया खम्वा हुन् । आफैँ सक्षम पनि छन् । तपाईंहरू आफ्ना मुद्दा आफैँ पनि अगाडि बढाउन सक्नुहुन्छ तर कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ,’ उनले भने, ‘तपाईंहरूका इस्युका साथमा महासंघ पनि सँगै गयो भने हाम्रो एकता अझ बढी मजबुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौं ।’

कार्यक्रममा ढकालले नेपाल शैक्षिक परामर्श संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल कफी व्यवसायी महासंघ, नेपाल मैदा उद्योग संघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ र नेपाल वनस्पति घ्यू तथा तेल उत्पादक संघका पदाधिकारीलाई सम्मानसहित बधाई दिएका थिए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको प्रमुख समस्या भनेको सही तथ्यांकको अभाव रहेकाले यसका लागि महासंघले काम गर्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तथ्यांक उपलब्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए ।

सदस्यहरुसँग नियमित बसेर उनीहरुका इस्युमाथि छलफल गर्न र समस्या समाधानमा पहल गर्न महासंघका पदाधिकारीहरु हरेक दिन ३ बजेपछि महासंघमा जम्मा भएर काम गरिरहेको उनले जानकारी गराए । कुनै समस्या भयो, कुनै इस्यु छन् भने महासंघमा आएर छलफल गर्न पनि उनले आग्रह गरे । सदस्यका समस्या समाधानमा महासंघको वर्तमान टिम पूणर् रुपमा प्रतिबद्ध रहेको श्रेष्ठले बताए ।

वस्तुगत परिषदका सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुगत परिषदले नयाँ सोच र फरक ढंगले काम गर्न लागेको जानकारी गराए । उपाध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रममा आएका सुझावअनुसार सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाइन् ।


क्लिकमान्डु