सबै कागजात बोकेर फरार भएका पशुपति सहकारीका अध्यक्ष सीबी लामा सम्पर्कमा, ३ वटै शाखा शिल



काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेको पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष सिबी लामा कार्यालयका सबै कागजात, कम्प्युटरका हार्ड डिक्स लिएर भागेका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा साउन १ गते बसेको मन्त्रिस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेर आवश्यक कारबाहीका लागि आइतबार सहकारी व्यवस्थापन समितिको कार्यालयलाई पत्रचार गरेको थियो । कार्यालयले पत्र पाएपछि सहकारीलाई सिल गर्न नै ३६ घन्टा लागेको छ ।

समितिले सोमबारदेखि नै उक्त सहकारीको कार्यालय खोजेको थियो । मंगलबार साँझमात्रै सहकारीका ३ ठाँउमा रहेका कार्यालय र सम्पर्क कार्यालय फेला परेको छ ।

२८३ जना सदस्य बचतकर्ताले ५० करोड ३० लाख रुपैयाँ अध्यक्ष लामासहितले ठगेको भन्दै पटक–पटक उजुरी गरेपछि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । घोषणा गरेपछि समितिको टोली सहकारी संस्था खोज्न हिँडेको थियो । ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय रहेको सहकारी त्यहाँबाट भागेर काठमाडौंको शंखमुलमा सरेको थाहा पाएपछि समितिले शंखमुलको कार्यालय शिल गरेको छ । शंखमुलमा सहकारीको बोर्ड नराखी कुमारीपाटीमा रहेका संस्थाको केही सामान, कम्प्युटर, केही कागजात एउटा फ्ल्याटमा रहेको अवस्थामा फेला परेको छ । त्यहाँ भर्रखरै कार्पेट बिच्छ्याएर पुराना कम्प्युटर राखेको अवस्थामा फेला परेको छ ।

यस्तै समितिले जमल र भक्तपुरको गठ्ठाघरमा रहेको शाखा कार्यालय पनि सिल गरेको छ । समितिको कार्यालयले जमलमा रहेको शाखाको पनि मंगलबार नै सिल गरेको छ । सिल गर्न पुगेका एक सदस्य अनुसार जमलको शाखा पनि लामो समय देखि बन्द रहेको, २०७९ साउन देखि कर्मचारीले काम छोडेको, कार्यालयको भाडा पनि विगत २ वर्षदेखि नतिरेको पाएको बताए । उनका अनुसार लामाले उक्त शाखाबाट कारोबार गर्न छोडेको करिब १ बर्षभन्दा बढी नै भएको देखिएको छ ।

गठ्ठाघरको शाखा सुरक्षित

समितिले कार्यालयले मंगलबार नै सहकारीको गठ्ठाघरमा रहेको शाखामा पनि शिल गरेको छ । शंखमुल र जमल शाखामा अपेक्षा अनुसार कागजात नभेटेपनि भक्तपुरको गठ्ठाघरमा रहेको शाखाबाट सबै कागजात सकुशल फेला परेको छ ।

‘भक्तपुर महानगरपालिकाले गरेको कडाइका कारण गठ्ठाघरको कार्यालय भाग्न सकेको रहेछन्’ सिल गर्न पुगेका एक सदस्यले भने ‘हामीले त्यहाँबाट हुने बचत संकलन, कर्जा लगानीको कागजात, कम्प्युटर सकुशल, अन्य कागजात पनि सकुशल सिल गरेर आफ्नो नियन्त्रणमा लिएका छौं । अन्य शाखा बन्द भएको र भक्तपुरको शाखा सञ्चालनमा रहेका कारण सबै कागजात सकुशल सिल गर्न सजिलो भएको हो ।’

भक्तपुर महानगरपालिकाको सहकारी शाखाले संस्थालाई निगरानीमा राखेका कारण संस्था तत्काल भाग्नबाट जोगिएको छ ।

सहकारीले बचतकर्ताको बचत नदिएर पटक पटक उजुरी परेर उजुरीको चाङ लागेपछि सहकारी विभागले जेठ १९ गते सहकारीका अध्यक्ष लामालाई सहित सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेको छ । विभागले नै सिआईबीलाई पत्राचार गरेपछि अध्यक्ष लामाले सहकारीको शखंमुलमा रहेको कार्यालय र जमलमा रहेको कार्यालयका कम्प्युटरको हार्ड डिक्स लुकाएका अन्य कागजात पनि लुकाएको पाइएको छ ।

माउन्टेन होटलमा सम्पर्क कार्यालय

करिब १ महिनादेखि लामाले दरबारमार्गमा रहेको होटल माउन्टेमा सम्पर्क कार्यालय खोलेको पाइएको छ ।

‘हामी बिहानै जमलमा रहेको शाखा कार्यालय खोज्दै पुग्यौं, सहकारीको बोर्ड निकाली सकेका कारण धेरै समय लगाएर कार्यालय भेटियो । कार्यालयमा केही कम्प्युटरमात्रै रहेछन् । त्यो पनि हार्ड डिक्स निकालेको, मोनिटरबाट तार निकालेको, मोनिटर एकातिर, सीपीयू एकातिर थियो । कागजपत्र भूईंमा धेरै छरिएको अवस्थामा निकै भद्रगोल थियो । त्यहाँ ३ वटा दराज र एउटा सेप पनि रहेको छ । त्यो मुचुक्ला गरेर राखिएको छ । त्यसको चाबी भेटिएको छैन’ सिल गर्न पुगको एक सदस्यले भने ‘हामीले धेरै समय लगाएर त्यहाँ सिल गर्यौ । पछि बुझ्दा थाहा भयो अध्यक्ष लगायतका व्यक्तिहरुको सम्पर्क कार्यालय कान्तिपथको होटल माउन्टेनको दोस्रो तला रहेछ ।’

उनका अनुसार उक्त होटलमा लामाले एक तीन वटा कोठा भाडा लिएको र त्यसलाई सम्पर्क कार्यालय बनाएको उनको भनाइ छ ।

‘हामी त्यहाँ पुग्दा ३ वटा कोठा ४ महिनाका लागि भाडामा लिएको पाइयो’ उनले भने ‘त्यहाँ एक जना महिला कर्मचारीलाई सहयोगीको रुपमा राखेको रहेछ । उहाँ पनि सहकारीको पीडित बचतकर्ता हुनुहुँदो रहेछ । उहाँलाई बचत पनि फिर्ता दिउँला केही समय यहाँ सहयोग गरिदिनु भनेका छन् । त्यहाँ त्यही सहकारीको कार्यालयका कुर्सी, टेबुल तीन/चार वटामात्रै रहेछ ।’

अध्यक्ष लामा लगायत व्यक्ति कुनै कुनै समयमा उक्त होटलमा भेट गर्ने गरेको पाइएको छ ।

‘होटलमा दोस्रो तलामा चार वटा कोठा भाडामा लिएको रहेछ । त्यहाँ एक जना महिला भेटिनु भयो’ सिल गर्न पुगेका एक सदस्यले भने ‘हामीले अध्यक्ष खै भनेर सोधेको, ति महिलाले अध्यक्ष कुनै कुनै बेला आउनु हुन्छ, उहाँले फोन गरेर को आयो के भन्यो भनेर सोध्नु हुन्छ । यहाँ बेला बेलामा सहकारीका पीडित बचतकर्ता पनि आउने गरेका छन् । म पनि सहकारीको पीडित बचतकर्ता हुँ मेरो पनि पैसा लिन बाँकी छ । यो कोठा चार महिनाका लागि लिएको हो । चार महिना सहयोग गरिदिनु, चार महिना पछि पैसा फिर्ता दिन्छु भनेको भएर यहाँ आएकी हुँ बाकी केही थाहा छैन’ भनेर भन्नु भयो । होटलमा लिएको कोठा अहिलेको सम्पर्क कार्यालय जस्तो देखियो ।’

कार्यालय सिल गर्ने बेला जमलमा १२/१५ जना पीडितसमेत पुगेका छन् ।

‘यो सहकारी संस्था समस्यामा पर्न थालेको करिब तीन वर्ष भयो, यो अवधिमा अध्यक्ष सिबी लामाले डिल्लीबजारमा रहेको घर बिक्री गरे, बुद्धनगरको घर बेच्यो’ अनुगमनमा पुगेको एक सदस्यले ती बचतकर्ताको भनाइ उदृत गर्र्दै भने ‘संस्था समस्यामा परेको पनि थाहा छ । सहकारी विभागमा पनि पटक पटक उजुरी परेको छ । यही बीचमा अध्यक्षले आफुसँग भएको २ वटा घर पनि बेचे तै पनि सहकारी विभागमा कर्मचारीलाई यो सबै हामीले जानकारी गराएका छौं, तै पनि विभागले केही चासो देखाएन । विभागले चासो देखाएको भए आजको अवस्था आउने थिएन ।’

अध्यक्ष सिबी लामा समितिको सम्पर्कमा, कागजात लुकाएको स्वीकारे

मन्त्रालयले सहकारी व्यवस्थापन समितिको कार्यालयलाई सहकारी समस्याग्रस्त घोषणा गरेर आइतबार फाइल पठायो । फाइल पठाए लगत्तै समितिले अध्यक्ष लामालाई सम्पर्क गरेको थियो । लामासँग सम्पर्क भएर आइतबार कार्यालयमा उपस्थित हुने जानकारी गराएका थिए । आइतबार उपस्थित नभएका लामा सोमबार पनि सम्पर्क भएको र कार्यालयमा उपस्थित हुने भन्दै ढाँटेका छन् । यो क्रम उनले मंगलबार पनि जारी राखेको कार्यालयले जनाएको छ ।

मंगलबार पनि सम्पर्कमा आएका लामाले सहकारीको मुख्य कार्यालयमा रहेका कागजात आफुले लुकाएको स्वीकारेका छन् । समितिको सम्पर्कका आएका अध्यक्ष लामाले कुमारीपाटीमा रहेको अफिस शंखमुलमा सारेको स्वीकार्दै संस्थाको सामान भने कुमारीपाटीमा नै अर्को ठाँउमा कोठा खोजेर राखेको स्वीकारेका छन् । उनले ती कागजात समितिलाई उपलब्ध गराउने बाचा गरेको समितिले जनाएको छ ।


सोभित थपलिया