१९ अर्ब ९० करोड लागतमा १०६ मेगावाटको अर्धजलाशययुक्त जगदुल्ला हाइड्रोपावर बन्दै



फाइल तस्बिर

काठमाडौं । डोल्पामा १९ अर्बभन्दा धेरैको लगानीमा १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजना बन्ने भएको छ । डोल्पाको जगदुल्ला नदीमा आधारित रहेर यो आयोजना बन्ने भएको हो ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनकाअनुसार डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा यो आयोजना निर्माण हुने भएको हो । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिडेटले निर्माण गर्ने आयोजनाको विद्युतीय क्षमता १०६ मेगावाटको हुनेछ ।

वार्षिक औसत उर्जा ६१५.३२ गिगावाट घण्टा उत्पादन हुने उक्त आयोजनाबाट बताइएको छ । यसमध्ये सुख्खायाममा २ प्रतिशत र वर्षायाममा ५ प्रतिशत उत्पादन कम हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनाको अनुमानित कुल लागत १९ अर्ब ९० करोड १४ लाख ५४ हजार ३०३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युतीय उर्जालाई राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्नका लागि ४५ किमि लामो १३२ केभीको प्रसारण लाइन निर्माण गरिने प्रतिवेदनमा उल्लेख छ । आयोजनाको विद्युत गृहदेखि दानीपिपल, राडीज्यूला, जाजरकोटस्थित नलगाड हब सबस्टेसनसम्मको प्रसारण लाइन निर्माण गरिनेछ ।


क्लिकमान्डु