फेरियो ट्विटरको नाम र लोगो, अब ‘एक्स डट कम’



एजेन्सी । माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ‘ट्विटर’को नाम तथा लोगो फेरिएको छ । कम्पनीका मालिक एलन मस्कले ट्विटरको नाम तथा लोगो पनि फेरिएको जानकारी दिएका छन् । अब ट्विटरलाई ‘एक्स डट कम’ नाम दिइएको छ भने यसको लोगोमा पनि अंग्रेजी अक्षर ‘एक्स’ राखिएको छ ।

कम्पनीका मालिक एलन मस्कले ट्विटरको नाम तथा लोगो फेरिएको जानकारी दिएका छन् । सँगै उनले आफ्नो ट्विटर प्रोफाइलको ‘प्रोफाइल पिक्चर’लाई पनि फेरेर ‘एक्स’ लेखिएको तस्बिर राखेका छन् । नाम तथा लोगो फेरिएको जानकारी दिँदै उनले सामाजिक सञ्जालमा एक भिडियो पनि राखेका छन्, जहाँ ट्विटरको पुरानो लोगो अर्थात चरा रहेको लोगोलाई हटाएर नयाँ लोगो ‘एक्स’ राखिएको देख्न सकिन्छ ।

कम्पनीले अब ‘एक्स डट कम’बाट पनि वेबसाइटमा जान सक्ने र ट्विटर प्रयोग गर्न सकिने जनाएको छ । नाम र लोगो फेरिएसँगै अब यसलाई यस्तो सामाजिक सञ्जालको रुपमा रुपान्तरण गर्ने बताइएको छ, जसमा भुक्तानीदेखि बैकिङसम्मका सुविधाहरु हुनेछन् ।

ट्विटरकी सिईओ लिण्डा याकारिनोले भने अब नयाँ अवतारमा आएको ट्विटरले मानिसलाई उनीहरुले कल्पना गरेको रुपमा कनेक्ट गर्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘एआईसहितको ‘एक्स’ले हामीलाई ती तरिकाले एकअर्कासँग सम्बन्धित बनाउनेछ, जसको अहिले कल्पना मात्रै गर्न सुरु भएको छ ।’

ट्विटरका मालिक मस्कको सम्बन्ध अंग्रेजी अक्षर ‘एक्स’सँग धेरै पुरानो हो । सन् १९९९ देखि नै उनी यससँग सम्बन्धित रहेका छन् । तब उनले एक अनलाइन बैंकिङ कम्पनी खोलेका थिए, जसलाई ‘एक्स डट कम’बाट गई चलाउन सकिन्थ्यो । पछि यसलाई नै पेपालको रुपमा ल्याइएको थियो ।


क्लिकमान्डु