८ अर्ब ७९ करोड लगानीमा काभ्रेको पनौतीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बन्दै
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा ८ अर्बभन्दा धेरैको लगानीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन बन्ने भएको छ ।
पनौती नगरपालिकाको वडा नम्बर ६ मा उक्त प्रतिष्ठानको भवन निर्माणका लागि राष्ट्रिय प्रहरी प्रतिष्ठानले वातावरण विभागमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस गरेको हो ।
प्रतिवेदनकाअनुसार कुल ४१.८६ हेक्टर क्षेत्रफलमा प्रतिष्ठानको भवन निर्माण हुन लागेको हो । कुल लागत ८ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ रहने प्रतिवेदनमा उल्लेख छ ।
३ वर्षको अनुमानित समय प्रतिष्ठानको भवन निर्माणका लागि लाग्नेछ । निर्माण सम्पन्न भएपछि भने उक्त भवनमा ३४५० जना मान्छेले एकसाथ बस्न सक्ने व्यवस्था रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रस्तावक राष्ट्रिय प्रहरी प्रतिष्ठानले उल्लेख गरेअनुसार ३२ सय २५ जना प्रहरी जवानको बसोबास र १२५ जना पाहुनालाई राख्न मिल्ने किसिमले भवनको निर्माण हुनेछ ।
प्रतिष्ठानलाई नेपाल प्रहरीको सुदृढीकरण र सहयोगका लागि नयाँ, आधुनिक र सुविधा सम्पन्न रुपमा स्थापना गर्ने उल्लेख गरिएको प्रतिवेदनमा विभिन्न ४५ किसिमका सुविधाहरु भवनमा हुने उल्लेख गरिएको छ ।
२५० जना क्षमताको एउटा सम्मेलन हल तथा ४८० क्षमताको दुईवटा सम्मेलन हल, घोडा तबेला, ५७२ क्षमताको एउटा सभागृह तथा ३५२ जना क्षमताको दुई वटटा सभागृह, हतियार स्टोर, विद्युतीय सबस्टेसन, हेलिप्याड, गोलाबारुद स्टोरलगायतका सुविधाहरु यो भवनमा हुने गरि निर्माणको प्रस्ताव गरिएको छ ।