अशोक स्टिलको व्यापार ५० प्रतिशतले बढ्यो, पौने ७ अर्बको कारोबार



काठमाडौं । अशोक स्टिल इन्डष्ट्रिज प्रालिको व्यापार ५० प्रतिशतले बढेको छ । सन् २०२१ मा ४ अर्ब ५२ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा ६ अर्ब ८८ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२२ मा कम्पनीको व्यापार ५० प्रतिशतले बढे पनि नाफा भने ३.९१ प्रतिशतले घटेको छ । कम्पनीअनुसार सन् २०२२ मा कम्पनीको नाफा ९० लाख रुपैयाँले घटेको हो । सन् २०२१ मा कम्पनीले ४ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरी, कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा ३ अर्ब २० लाख रुपैयाँको व्यापा गरेको छ । जसमा कम्पनीले ६.८९ प्रतिशतले नाफा कमाएको छ ।

सन् १९८४ मा स्थापना भएको कम्पनीले टीएमटी बार उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक एक लाख मेट्रिक टन डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीले स्पञ्ज आइरन, पीग आइरन र स्क्र्याब आइरन आयात गरी एम एस बिलेट उत्पादन गर्दै आएको छ ।

कम्पनीले ‘अशोक टीएमटी’ ब्रान्डमा डण्डी बिक्री गर्दै आएको छ । पुनम चन्द अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि ३ अर्ब ४ करोड ६६ लाख रुपैयाँ रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३१ करोड ६६ लाख रुपैयाँ अर्थात् डबल बी र अल्पकालीन कर्जाका लागि १ अर्ब ७३ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीको देशभर २५० भन्दा बढी डिलर ५ सयभन्दा बढी रिटेलर छन् ।


क्लिकमान्डु