विमानस्थलबाट बाहिरिएको सय किलो सुनको नेक्सस पत्ता लगाएरै छाड्छु: गृहमन्त्री



काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको सय किलो सुनको नेक्सस पत्ता लगाएरै छाड्ने बताएका छन् ।

स्थगत अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका श्रेष्ठले पत्रकारसँग छानबिनको प्रक्रियालाई जरैसम्म पुग्ने गरी अघि बढाउने र जस्तोसुकै र जोसुकै भए पनि यसको नेक्सससम्म पुग्ने बताए ।

‘त्यस सन्दर्भमा राजस्व अनुसन्धानअन्तर्गत एक छानबिन सम्बन्धित समिति पनि बनेको छ र छानिबनलाई अघि बढाइएको छ,’ उनले भने, ‘यो छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अघि बढाउनुपर्छ । जस्तोसुकै र जोसुकै भए पनि यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अघि बढाएर कारबाहीको प्रक्रियामा जानुपर्छ भन्नेमा हाम्रो जोड छ ।’

उनले प्रधानमन्त्रीले पनि छानबिन गरी जरैसम्म पुग्न निर्देशन दिएको बताए । गृहमन्त्री श्रेष्ठले आफूले पनि सम्बन्धित सबै अधिकारीलाई यस बारेमा कडा निर्देशन दिएको बताउँदै अहिलेको छानबिन समितिलाई राज्यका सबै निकायले सघाउने स्पष्ट पारे ।

‘अहिले हामी त्यसरी नै अघि बढ्नेछौं,’ उनले भने, ‘ आवश्यकता पर्‍यो भने नेपाल प्रहरीले अहिले सहयोग गर्नेछ र आवश्यकता पर्यो भने हाम्रो सिआईबी वा अपराध अनुसन्धान शाखाजस्ता निकाय छन्, उनीहरुले नै अनुसन्धान पनि गर्न सक्नेछन् । तर, अहिले राजस्व अनुसनधानको नेतृत्वमा जुन समिति बनेको छ, त्यसले नै अनुसन्धानको प्रक्रिया अघि बढाउँछ । त्यसको अनुसन्धान सफल बनाउन र सघाउन सबै संयन्त्रलाई निर्देशन दिन्छौं ।’

त्यस्तै, विमानस्थलको अनुगमनका क्रममा आफूले अराइभलको क्रममा पनि प्रहरी राख्ने विषयमा कुराकानी गरेको पनि श्रेष्ठले बताए । उनले भने, ‘अराइभलको लगेज स्क्रिनिङ गर्ने ठाउँमा प्रहरीको उपस्थिति रहँदैन । हामी यहाँ हुनुभएका कर्मचारीलाई प्रहरी चाहिँदैन भन्दा प्रहरी भयो भने राम्रै हुन्छ भन्नुभएको छ । हामीले सायद अब त्यहाँ प्रहरीलाई पनि सामेल गराउनुपर्छ । भन्सारका कर्मचारीका अतिरिक्त प्रहरी भएमा सहयोगी भूमिका हुन्छ भनेका थियौं । अहिले यहाँ हुनुभएका कर्मचारीले यो सही नै कुरा भएको भन्नुभएको छ ।’


क्लिकमान्डु