एक क्विन्टलभन्दा बढी सुन बाहिरिएपछि गृहमन्त्री विमानस्थल भन्सार र अध्यागमनको निरीक्षणमा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट एक क्विन्टल बढी सुन बाहिरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले शुक्रबार बिहान विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेका छन् ।

गृहमन्त्रीसँगै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमनका विभागका महानिर्देशक झलकराम अधिकारी, प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायत रहेका छन् ।

विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट झन्डै एक क्विन्टल सुन बरामद गरेको थियो ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूसँगको अनुसन्धानपछि राति नै विभागले थप चार जनालाई पक्राउ गरेको थियो । उक्त सुन हङ्कङबाट रेडी ट्रेड प्रालिको नाममा आएको खुलेको छ । त्यसका सञ्चालक पनि पक्राउ परेका छन् ।

स्कुटरको ‘ब्रेक शु’को नाममा लुकाएर यसरी सुन बरामद भएको हो ।

उक्त सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक जेयुङ लिन, ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।


क्लिकमान्डु