वैदेशिक मुद्रा नेपालबाहिर लैजान खोज्ने ४ जना पक्राउ
काठमाडौं । अवैध रुपमा नेपालबाट वैदेशिक मुद्रा बाहिर लैजान खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लकाएर बाह्य मुलुकतर्फ लैजान लागेको ४१ हजार ४ सय अमेरिकी डलर, १ लाख १९ हजार ५ सय साउदी रियाल, १ हजार ३ सय ५७ ओमानी रियाल र ३ सय ८ बहराइन दिनारसहित चार जनालाई पक्राउ गरिएको हो ।
उक्त रकम भने विमानस्थलबाट पक्राउ परेका अनिस थापासँग बरामद गरिएको प्रहरीले जनाएको छ । थप तीन जनालाई थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थापा हिमालयन एयरलाइन्सको उडानबाट काठमाडौ.देखि दुबई जान लागेका थिए । विमानस्थ्लमा अन्तराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ क्षेत्रमा जाँच गर्दा लगेजभित्र प्लास्टिकले र्यापिङ गरेर चाउचाउको बीचमा लुकाएर उनले विभिन्न देशका मुद्रा लैजान लागेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले थापासहित रुपन्देहीका दिपेश रानालगायत अन्य तीन जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान पार्किङ क्षेत्रबाट पक्राउ गरेको हो । नगदसहित पक्राउ गरेका थापाले पैसा उनीहरुले नै दिएको बताएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका गौशाला प्रहरी वृत्तमा राखिएको छ ।