मेटाले ल्यायो ‘लामा-२’, च्याटजिपिटी र गुगलको बार्डसँग प्रतिस्पर्धा गर्ने



काठमाडौं । फेसबुक र इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको प्रमुख कम्पनी मेटाले आफ्नै एआई ल्याङ्ग्वेज मोडल सार्वजनिक गरेको छ । मेटाले ‘लामा-२’ नामक एआई मोडल सार्वजनिक गरेको हो । गत मंगलबार कम्पनीले यसलाई सार्वजनिक रुपमा सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार यसलाई अनुसन्धान र व्यावसायिक दुवै किसिमका प्रयोजनका लागि नि:शुल्क प्रयोग गर्न सकिनेछ । कम्पनीले यसलाई ‘नेक्स्ट जेनेरेसन ओपन सोर्स’ ल्याङ्ग्वेज मोडल भएको बताएको छ ।

आफ्नै एआई मोडल सार्वजनिक गर्दै गर्दा मेटाका सिईओ मार्क जुकरबर्गले फेसबुकमा लेखेका छन्, ‘यसले ओपन सोर्स इनोभेसनलाई थप परिष्कृत बनाउनेछ किनकि यसले अरु डेभलपरहरुलाई पनि नयाँ प्रविधिको विकासमा सक्षम बनाउनमा सहायता गर्नेछ । मलाई लाग्छ, इकोसिस्टम खुला भएमा धेरै प्रगति हुन्छ । त्यसैले हामी लामा-२ लाई ओपन सोर्स राखिरहेका छौं ।’

ओपन सोर्सको अर्थ उक्त सफ्टवेयरको कोडिङहरु सार्वजनिक रुपमा उपलब्ध हुनु भन्ने हो ।

जुकरबर्गका अनुसार कम्पनीले लामा-२ लाई माइक्रोसफ्टसँग साझेदारी गरेर प्रयोगमा ल्याएको छ । दुवै कम्पनीले लामा-२ का लागि एउटा टिम बनाएको उनले बताएका छन् । उनले लामा-२ भइरहेका र भविष्यमा आउने एआई ल्याङ्ग्वेज मोडलहरुलाई पनि प्रतिस्पर्धा दिने किसिमको रहेको दाबी गरे ।


क्लिकमान्डु