कुमारी क्यापिटलको सीईओमा पुष्प शर्मा नियुक्त
काठमाडौं । कुमारी क्यापिटलको सीईओमा पुष्प शर्मा नियुक्त भएका छन् । असार ३१ गते बसेको सञ्चालक समितिको ५८ औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मालाई साउन १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ ।
यस अघि उनले कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा १३ वर्षभन्दा बढीको कार्य अनुभव भएका शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व भएको क्यापिटलले जनाएको छ ।
उनी कुमारी क्यापिटलमा आबद्घ हुनुपूर्व नेपाल एसबिआई मर्चेण्ट बैंकिङमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको रुपमा नेपाल एसबिआई बैंकबाट काजमा रही कार्यरत थिए ।
नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माको व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा विश्वस्त रहेको कुमारी क्यापिटलले जनाएको छ ।
कुमारी बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी ४० करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।