भुक्तानी र म्याद थपको मागसहित निर्माण व्यवसायी आन्दोलित, माइतीघरमा एक घण्टा धर्ना



काठमाडौं । असार मसान्त भइसक्दा पनि अर्बौं भुक्तानी रोकिएको तथा नेपाल सरकारबाट म्याद थपको विषयमा भएको त्रुटीपूर्ण आदेशको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले आज राजधानीको माइतीघर मण्डलामा एक घण्टा धर्ना दिएका छन् ।

व्यवसायीहरूको माग सम्बोधन नभएकाले सरकारका सरोकारवाला निकायको ध्यानाकर्षण गराउन महासंघले विहान ९ बजेदेखि एक घण्टा धर्ना दिएको जनाएको छ ।

धर्ना कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले राज्यको गैरजिम्मेवारपनका कारण महासंघले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । ‘म्याद थप र भुक्तानीका बारेमा महासंघले फागुनदेखि नै सरकारका सबै सम्बन्धित निकायको पटक-पटक ध्यानकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको हो,’ उनले भने ।

भुक्तानी अभावका कारण हजारौं व्यवसायी पेसाबाट पलायन भई उनीहरूमा आश्रित लाखौं श्रमिक तथा मजदुरको रोजीरोटी खोसिँदा पनि राज्य मुकदर्शक बन्नु गैरजिम्मेवारीको पराकाष्ठ भएको अध्यक्ष सिंहको भनाइ छ ।

बजेटबिनाका आयोजना हचुवाका भरमा घोषणा गरी पर्याप्त बजेट नछ्ट्याई राज्यबाट नै निर्माण परियोजना लथालिंग बनाउने काम भएको भन्दै उनले २०८० असार २१ मा प्रकाशित म्याद थपको अमूर्त सूचना व्यवसायीका लागि मान्य नभएको बताए ।

एक वर्षमा वर्षा, चाडवाड, क्रसर बन्द, महँगी, निर्वाचन, भुक्तानी अभावलगायतका कारणले काम हुन नसकेको स्पष्ट कारण भएकाले सबै आयोजनाको एकमुष्ट २०८१ असार मसान्तसम्म म्याद थप हुनुपर्ने उनले माग गरे ।

धर्ना कार्यक्रमका अर्का वक्ता महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष यक्षध्वज कार्कीले व्यवसायीको मागलाई राज्यले कहिल्यै पनि गम्भीर रुपमा नलिएको भन्दै अब निर्णायक आन्दोलन गर्नुपर्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले निर्माण व्यवसायीको ठूलो भुक्तानी रोकिँदा निर्माण उद्योगमा मात्र नभएर समस्त अर्थतन्त्रमा समस्या देखिएको तर्क गरे ।

धर्नामा सहभागीहरूले ‘निर्माण कार्यको बाँकी रकमको भुक्तानी तुरुन्त गर, वास्तविक म्याद थप गर, अव्यावहारिक माइलस्टोन खारेज गर, मूल्य समायोजन कायम गर’ लगायताका नारा लगाउँदै व्यावसायिक एकतामा जोड दिएका थिए ।


क्लिकमान्डु