मलेसियाको म्याक्स मनीलाई नेपालमा रेमिट्यान्स कारोबार गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगायो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको एक कम्पनीलाई रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मलेसियाको म्याक्स मनी एसडीएन बीएचडीलाई रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको हो ।
म्याक्स मनीले रेमिट्यान्स कारोबारबापतको रकम नेपाली इजाजतप्राप्त निकायलाई भुक्तानी नगरेकाले प्रतिबन्ध लगाउनुपरेको विभागले जनाएको छ ।
यसअघि २०७५ मंसिर १२ र फागुन २ गते पनि राष्ट्र बैंकले सो कम्पनीलाई कारोबारमा प्रतिबन्ध लगाएको थियो । तर, वक्यौतामध्ये आंशिक रकम भुक्तानी गरेपछि २०७६ माघ ५ गते प्रतिबन्ध फुकुवा गरिएको थियो ।
तर, प्रतिबन्ध फुकुवा गर्दा तोकिएका सर्त पालना नगरेको पाइएपछि राष्ट्र बैंकले अर्को निर्णय नभएसम्मका लागि म्याक्स मनीलाई बिहीबारदेखि रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको जनाएको छ ।
साथै, राष्ट्र बैंकबाट इजाजत प्राप्त कुनै पनि कम्पनीलाई म्याक्स मनीसँग बक्यौता उठाउनेबाहेकका कुनै पनि कारोबार नगर्न पनि निर्देशन दिइएको छ ।
म्याक्स मनिले मलेसियामा कार्यरत नेपाली कामदारले नेपाल पठाएको रेमिट्यान्स बैंकलाई भुक्तानी नदिएको नदिएपछि कारोबारमा प्रतिबन्ध लगाएको थियो । म्याक्सले हिमालयन बैंकसँग मिलेर नेपाली कामदारको रेमिट्यान्स नेपाल पठाउँदै आएको थियो ।
म्याक्सले मलेसियामा नेपाली कामदारसँग पैसा उठाएर यता हिमालयन बैंकलाई भुक्तानी अर्डर दिएको थियो । बैंकले नेपालमा रेमिट्यान्स भुक्तानी गरिसक्दा पनि म्याक्सले बैंकलाई पैसा दिएको थिएन ।
त्यसबेला म्याक्स मनीले हिमालयन बैंकको मात्रै ४९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । कम्पनीले बदमासी गर्न थालेपछि राष्ट्र बैंकले पहिले पैसा लिएर मात्र भुक्तानी गर्न नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो ।