नेपालमा लगानीका लागि दक्षिण कोरियालाई चेम्बरको आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासँग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरे ।

‘दुई मुलकबीचको कुटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ’ मल्लले भने ।

नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसँग मल्लले आग्रह गरे ।

भारत, बंगलादेश जस्ता देशमा नेपालको विद्युतको उच्च माग रहेको भन्दै उनले लगानी प्रतिफलको सुनिश्चितता समेत माग गरे ।

दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए ।
‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधी बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ’ उनले भने ।

घरेलु, हस्तकला लगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्न समेत राजदूत पार्कलाई उनले आग्रह गरे ।
सेवा क्षेत्र, पर्यटन, कृषि लगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्व ८१ करोड रुपैया लगानी गरेको छ । जसबाट १२ हजार भन्दा बढीले रोजगारी पाएका छन् । यस्तै कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन् ।

चेम्बरको स्वागत पछि नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कुटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिवद्धता जनाए । ‘नेपाल र कोरियाको सम्वन्ध आगामी बर्ष ५० औं बर्षमा पुग्दैछ’ उनले भने ।

नागरिक नागरिकबीचको सम्वन्धलाई अझ दिगो बनाउन आफुले भूमिका निर्वाह गर्ने पार्कले बताए ।

नेपालमा उत्पादन हुने सवै वस्तुहरु वातावरण मैत्री भएको भन्दै राजदूतले यहाँ उत्पादित बस्तुहरु आफ्नो मुलुक भित्र्याउनका लागि पहल गर्ने बताए ।


क्लिकमान्डु