सम्याउने ठेकेदारले बालुवा तस्करी गरेपछि पोखरी बन्यो खेल मैदान



भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको खेल मैदान पोखरीमा परिणत भएको छ।

चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको उक्त खेल मैदानबाट अवैधरुपमा माटो बालुवा दोहन हुँदा मैदान पोखरीमा परिणत भएको हो ।

२०७९ जेठ मसान्तसम्ममा सम्याइसक्ने गरी २०७७ असार १७ गते निर्माण कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको उक्त खेल मैदान म्याद थप भएको एक बर्ष वितिसक्दा समेत बन्न नसकेको हो ।

सम्झौताअनुसार कम्पनीले जमिनको लेबलसम्म सम्याउने र त्यस क्रममा निस्किने माटो, बालुवा तथा अन्य निर्माणजन्य सामग्री उत्खनन् र बिक्री वितरण गर्न पाउने गरी ८ करोड ६४ लाख रुपैयाँमा ठेक्काको जिम्मा पाएको थियो।

झट् हेर्दा पहाडको बीचमा माछा पालनका लागि पोखरी बनाएको जस्तै देखिन्छ । तर यहाँ माछा होइन, बालुवा र माटोको ठूलो डाँडा छ । हिउँद महिनामा स्काभेटर लगाएर २५ फिटभन्दा तल गएर बालुवा निकाल्ने काम भएकाले वर्षायाममा खेलमैदान पोखरीमा परिणत भएको हो ।

अझ खेल मैदानको वरपर घर खेत सम्याउने नाममा अवैध रुपमा खानी सञ्चालन भइरहेका छन् । ती अवैध खानीहरुले खेल मैदान निर्माणको जिम्मा पाएको ठेक्दार कम्पनीकै बील प्रयोग गर्ने गरेको स्थानीयको आरोप छ ।

खेल मैदानको नामबाट हुने अनियमितताबारे सम्बधीत निकाय जानकार नभएको पनि होइन । ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौता वितरित जमिनको लेबलभन्दा करिब २५/३० फिट तल गएर बालुवा उत्खनन गरिरहेको भन्दै संसददेखि सडकसम्म चर्को बीरोध भएको थियो सञ्चारमाध्यमले पनि यो विषयलाई प्राथमिकता दिएका थिए ।

तर, कानुनको पालना गराउनुपर्ने प्रशासन, जनप्रतिनिधिदेखि स्थानीय नेता कार्यकर्तासम्मको मिलेमतोमा उत्खनन्को काम भइरहेको कारण सम्बन्धीत सबै निकाय मौन रहने गरेको स्थानयीको गुनासो छ ।

‘नगरपालिकामा गुनासो गरेँ, नगर प्रहरी अनुगमनका लागि आए जस्तो मात्रै गर्ने गरेका छन्, खै कारवाही के भएको छ र ?’ वडा नम्बर ४ का एक स्थानीयले प्रश्न गरे । ‘नियम विपरित बालुवा माटो ओसारपसार गर्दै गरेको अवस्थामा नगर प्रहरीले समात्दा त जरिवानै नलिइ छाडियो’ अर्का स्थानीयले थपे ।

दलका कार्यकर्ता र ठेकेदारका मान्छेको डरले आफूहरु मिडियामा बोल्न पनि डराउनु पर्ने उनीहरुको भनाइ छ ।

करिब ९३ रोपनी क्षेत्रफल रहेको उक्त स्थानमा खेल मैदानको नाममा जथाभावी उत्खनन्को काम हुँदा विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र त्यस वरपरका बस्ती समेत जोखिममा पर्दै गएको छ ।

चाँगुनारायण नगरपालिकाले खेल मैदान निर्माण गर्ने भन्दै अन्य स्थानमा पनि पानीको मुहान नै मासिने गरि जथाभावी डोजर चलाउँदै आएको छ । चाँगुनारायण नगरपालिका वडा– ७ स्थित भंगेरी डाँडामा करिब २०० क्षेत्रफलमा २ अर्ब ४० करोड रुपैयाँको लागतमा रग्बी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गर्ने भन्दै जमिन सम्याउने काम गरेको छ ।

चाँगुनारायण नगरपालिकाभित्र खेल मैदानको नाममा मात्रै होइन जग्गा सम्याउनेमात्र होइन अवैध रुपमा भइरहेको प्लानिङको पनि बिगबिगी छ । स्वीकृतिबिनै बनेका प्लानिङहरुले सरकारी जग्गामा कब्जा जनाउँदै आएका छन् खोला, नाला ढल, किलो कुलेसो सबै पुरेर बाटो बनाउने सम्मका अबैध काम हुँदै आएका छन् ।

‘यस्ता विषयबारे हामीले नगरपालिकामा बारम्बार भनेका छौं’एक स्थानीयले भने, ‘तर सबै मिलेका छन् कि के हो केही गर्दैनन् ।’

तस्बिर: मणिराज खत्री


क्लिकमान्डु