महानगरभित्र छात्रवृत्तिमा ११ कक्षामा पढ्न चाहनेले आजबाट आवदेन दिन सक्ने, कसरी भर्ने ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छावृत्ति परीक्षाको आवदेन खुलाएको छ ।

महानगरपालिकाको शिक्षा विभागले सूचना प्रकाशित गर्दै काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छावृत्तिमा विद्यार्थी छनोट गरिने भएकाले आवेदन माग गरेको हो ।

महानगरकाअनुसार असार २८ गते बिहान १० बजेदेखि साउन १२ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइन फारममार्फत विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति परीक्षा सञ्चालन हुने कार्यक्रमहरु विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा रहेको महानगरले जनाएको छ ।

छात्रवृत्तिका लागि परीक्षा भने साउन २० गते बिहान ११ बजेदेखि दिनको १ बजेसम्म हुनेछ ।

छात्रवृत्तिका लागि आवेदन दिन चाहनेहरुले महानगरले जारी गरेको वेबसाइट http://entrance.kathmandu.gov.np/ मा गई आवेदन फराम अनलाइनबाटै भर्न सक्नेछन् ।

आवेदन दिन इच्छुक विद्यार्थीहरुका लागि महानगरले तोकेको न्यूनतम योग्यताहरु भने पूरा गर्नुपर्नेछ ।

एसईईमा सामुदायिक विद्यालयबाट अध्ययन गरि न्यूनतम १.६ जिपिए ल्याएको वा संस्थागत (निजी) विद्यालयमा १० प्रतिशत छात्रवृत्तिमा अध्ययन गरि न्युनतम १.६ जिपिए ल्याएको, ल्याण्डफिल्ड साइडबाट प्रत्यक्ष प्रभावित क्षेत्र ककनी गाउँपालिकाको वडा नम्बर १, २, ३ र धुनिवेशी गाउँपालिकाका वडा नम्बर १, ३ र ४ का स्थायी बासिन्दा र न्युनतम १.६ जिपिए ल्याएर संस्थागत वा सामुदायिक विद्यालयबाट एसईई पूरा गरेकाले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । सामुदायिक विद्यालयबाट एसईई पूरा गरेकाहरु मात्र आरक्षणका लागि योग्य हुने महानगरले जनाएको छ ।

इच्छुक विद्यार्थीको आवेदन भर्नका लागि एसईईको प्रवेशपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण पत्र, एसईई वा सो सरहको मार्कसिट र चारित्रिक प्रमाण पत्र, सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको सिफारिस, संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरुको सिफारिस आवश्यक पर्नेछ । त्यस्तै, आरक्षणअन्तर्गत पनि विभिन्न मापदण्डहरु तोकिएका छन् ।


क्लिकमान्डु