आईएमई ग्रुपले सातै प्रदेशमा तारे होटेलसहित केबलकार निर्माण गर्ने



बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् ।

लुम्बिनी केबलकार लिमिटडले पाल्पाको वसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा एकपछि अर्को केबलकारहरु सञ्चालनमा आएकाले अब बुद्धिस्ट सर्किट, रामायण सर्किट जस्तै केबलकार सर्किट पनि नेपालको पर्यटन प्रवर्धनमा नौलो प्याकेज हुने बताए ।

नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमा लगानी गरे दुबै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउने ढकालले बताए ।

आईएमई ग्रुपको अगुवाइमा अबको ५ वर्षमा पाँचतारे होटलसहितका थप ४ वटा केबलकार निर्माण गरी सातवटै प्रदेशमा केबलकार सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको ढकालले सुनाए । नेपालमा सयौं हिल्स एरिया रहेको र त्यहाँ केबलकारलगायत पर्यटकीय पूर्वाधार बनाउन सके भारतीय नागरिक रमाउन आउने सम्भावना रहेको उनको भनाइ छ ।

कुल ५ अर्ब लागतको २.६ किलोमिटर लामो लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेसन छ । टप स्टेसनमा कामाख्यादेवीसहित सय वर्ष पुरानो भगवती मन्दिर, शिव वाहन नन्दीलगायतका धार्मिक संरचना छन् ।

लुम्बिनी केबलकार बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीनजिकै रहेकाले  पाल्पा वसन्तपुरको मनोरम प्राकृतिक भूगोल तथा कामाख्या देवीको मन्दिर दर्शनका लागि भारतीय नागरिक आकर्षित हुने ढकालले बताए ।

अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, खानी र खनिज पदार्थ, कृषि जस्ता क्षेत्रमा भारतीयसँग संयुक्त लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिनेसमेत औंल्याए ।

भारतीय पर्यटकलाई नेपाल आगमनका क्रममा सीमा नाकामा गरिने व्यवहार सम्मानजनक हुनुपर्ने र प्रशासनिक झन्झटलाई सहज बनाइनुपर्ने अध्यक्ष ढकालले आग्रह गरे ।

सञ्चालनमा आएको एक महिनामै लुम्बिनी केबलकार चढ्ने कुल संख्यामध्ये ४० प्रतिशत भारतीय नागरिक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले बेलहियाबाट बुटवल गोलपार्कसम्म सटल बसहरु चाँडै सञ्चालनमा ल्याउने योजना रहेको जानकारी गराए ।

लुम्बिनी केलबकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र १५० कोठासहितको पाँचतारे होटल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको अपरेसन म्यानेजर डिएन कायस्थले बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पर्यटन पत्रकार नरेश केसीलगायतले नेपाल र भारतबीच सरकारी स्तरसँगै नागरिक स्तरको सहकार्यबाट दुबै देशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने धारणा राखे ।


क्लिकमान्डु