वैदेशिक रोजगारीमा जाने संख्या र रेमिट्यान्स आप्रवाह दुवैमा रेकर्ड



काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या र रेमिट्यान्स आप्रवाहको नयाँ रेकर्ड कायम भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमै विगतको वैदेशिक रोजगारीमा जाने संख्या र रेमिट्यान्स आप्रवाहको रेकर्ड कायम गरेको हो ।

कोभिडले गर्दा वैदेशिक रोजगारी क्षेत्रमा उच्च प्रभाव परेको थियो । करिब दुई वर्षसम्म अस्तव्यस्त रहेको वैदेशिक रोजगारी कोभिडपछि ह्वात्तै बढेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाह पनि उच्च भएको छ ।

नेपालबाट गत आर्थिक वर्षमा ६ लाख २८ हजार ५०३ जना युवा बिदेसिएका थिए । उक्त अवधिमा ५ लाख ७९ हजार ५२८ जना पुरुष र ४८ हजार ९७५ जना महिला बिदेसिएका थिए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो वर्षको ११ महिनाको अवधिमै गत वर्षको तुलनामा एक लाखभन्दा बढी नेपाली बिदेसिएका छन् ।

चालु आवको ११ महिनाको अवधिमा ७ लाख १६ हजार ३२ जना युवा रोजगारीको खोजीमा बिदेसिएका छन् । जसमा ६ लाख ५१ हजार ४८४ जना पुरुष र ६४ हजार ५४८ जना महिला छन् । त्यस्तै, विभागको निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले चालु आवको असार २२ सम्ममा ७ लाख ५१ हजारले नयाँ तथा पुनः श्रम स्वीकति लिई बिदेसिएका छन् ।

सुवेदीका अनुसार चालु आवमा हालसम्मको सबैभन्दा नेपाली बिदेसिएका छन् । अझै असार अन्त्यसम्ममा विदेशीको संख्या हेर्दा ७ लाख ६० हजार नाघ्ने देखिन्छ । स्वदेशमा युवालाई पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा दैनिक २५ सयको हाराहारीमा बिदेसिएको पाइन्छ ।

नेपालले हालसम्म १११ वटा देशमा रोजगारीको खुला गरेको छ । त्यसमा यो वर्ष करिब एक सयभन्दा बढी मुलुकमा नेपाली रोजगारीमा विदेश पुगेका छन् ।

यसअघि ११ महिनाको अवधिमा उक्त संख्यामा वैदेशिक रोजगारीमा गएको रेकर्ड थिएन । तर, यो वर्ष मासिक ६० हजारभन्दा बढी बिदेसिने प्रवृत्तिले गर्दा नयाँ रेकर्ड कायम भएको छ ।

नेपालबाट आर्थिक वर्ष २०७४/७५ मा नेपालबाट ६ लाख १२ हजार ६८५ जना, आव २०७५/७६ मा ५ लाख ८ हजार ८२८ जना, आव २०७६/७७ मा ३ लाख ६८ हजार ४३३ जना, आव २०७७/७८ मा १ लाख ६६ हजार ६९८ जना र आव २०७८/७९ मा ६ लाख २८ हजार ५०३ जना नेपाली बिदेसिएका थिए ।

श्रम विज्ञ एवं अधिवक्ता सोम लुइँटेलले स्वदेशमा रोजगारीका अवसर नहुँदा दिनहुँ नेपाली बिदेसिन बाध्य भएको बताए । उनका अनुसार कोभिडले गर्दा हजारौं नेपाली विदेश जान पाएका थिएनन् । कोभिडपछि वैदेशिक रोजगारी जानका लागि सहज भएसँगै बिदेसिनेको संख्या ह्वात्तै बढेको छ ।

चालु आर्थिक वर्षको सुरुदेखि नै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको सरकारी तथ्यांक छ । साउनमा नेपालबाट ६३ हजार ३९ जना, भदौमा ७६ हजार ४०३ जना, असोजमा ६२ हजार ७०६ जना, कात्तिकमा ७८ हजार ३७० जना र मंसिरमा ६८ हजार ५६४ जना बिदेसिएका थिए ।

त्यसैगरी, पुसमा ६५ हजार ४६४ जना, माघमा ६४ हजार २८४ जना, फागुनमा ६१ हजार ८४५ जना, चैतमा ६१ हजार ४७८ जना, वैशाखमा ५४ हजार ४५७ जना र जेठमा ५९ हजार ४२२ जना नेपाली बिदेसिएका छन् ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाह हरेक महिना बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । साउनमा रोजगारीमा रहेका नेपालीले ९२ अर्ब २१ करोड रेमिट्यान्स पठाएका थिए । राष्ट्रको बैंकको तथ्यांकअनुसार भदौमा ९४ अर्ब ८३ करोड रुपैयाँ, असोजमा ९४ अर्ब १ करोड रुपैयाँ, कात्तिकमा ९६ अर्ब ९९ करोड र मंसिरमा १ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

त्यसैगरी, पुसमा १ खर्ब ४ अर्ब ३८ करोड रुपैयाँ, माघमा १ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ, फागुनमा १ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँ, चैतमा १ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ, वैशाखमा १ खर्ब १ अर्ब ७९ करोड रुपैयाँ र जेठमा १ खर्ब ७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ ।

रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड

चालु आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । राष्ट्र बैंकका अनुसार  ११ महिनाको अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ ।

पाँच वर्षको तथ्यांक हेर्दा रेमिट्यान्स आप्रवाहमा हरेक वर्ष रेकर्ड कायम गर्दै आएको देखिन्छ । नेपालमा आव २०७४/७५ मा ७ खर्ब ७६ अर्ब रुपैयाँ, आव २०७५/७६ मा ८ खर्ब ७९ करोड रुपैयाँ र आव २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स आप्रवाह भएको थियो ।

त्यस्तै, आव २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ र आव २०७८/७९ मा १० खर्ब ७ अर्ब रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।


अरिष्मा मोक्तान