अदालतको अवहेलना मुद्दामा महानगर प्रमुख बालेनले पाएनन् वारेस राख्ने सुविधा



काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना गरेको आरोप खेपिरहेका शाहले मुद्दाको तारिख खेप्न वारेसको सुविधा माग गरेर दिएको निवेदनमा सर्वोच्चले ‘मागबमोजिम नहुने’ आदेश गरेको हो ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासले वारेशको सुविधान नहुने आदेश गरेसँगै महानगर प्रमुख शाह हरेक पटक आफैं अदालतमा उपस्थित भएर मुद्दाको तारिख लिनुपर्ने भएको छ । उनी सुनुवाइका दिन पनि अदालतमा अनिवार्य उपस्थित हुनुपर्नेछ ।

बालेनले काठमाडौंमा भारतीय चलचित्र चलाउन दिन रोक लगाएफछि उच्च अदालत पाटनमा एक मुद्दा परेको थियो । अदालतले काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । त्यसपछि बालेनले सरकार जस्तै अदालत पनि भारतको गुलाम भएको टिपप्णी सामाजिक सञ्जालमा गरेका थिए ।

त्यसमाथि प्रश्न उठाउँदै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा अदालतको अवहेलना आरोपमा उजुरी दिएकी हुन् । सर्वोच्च अदालतले शाहलाई अदालतको अवहेलनामा मुद्दामा जवाफ पठाउन बालेनलाई आदेश दिइसकेको छ ।


क्लिकमान्डु