करोडौं बार्गेनिङ गर्दै कसले बनायो व्यवसायी दुर्गा प्रसाईंको हत्या योजना ? यस्तो छ नालीवेली



काठमाडौं । असार पहिलो साता मेडिकल व्यवसायी दुर्गा प्रसाईं केही सहयोगीसहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा रहेको आफ्नै घरमा बसिरहेका थिए । एउटा अपरिचित नम्बरबाट फोन आयो । उनले धेरै नसोची रिसिभ गरे।

उताबाट सिधै उद्देश्यअनुसारको कुरा आयो- तपाईंको हत्याका लागि योजना बनिसकेको छ, तपाईंको हत्याका लागि हामीलाई ३० करोड दिने भएको छ । तपाईं ३० दिने भए हामी ब्याक हुन्छौं ।’

फोन गर्ने व्यक्तिले आफ्नो नाम बताए- प्रवेश लामा ।

त्यसबेला प्रसाईंले लामो गफ गरेनन् । अचम्ममा परे- ‘निजी सुरक्षाका लागि १५-१७ जनाको तालिमप्राप्त सेक्युरिटी फोर्स सँगै छ, प्रहरीका उच्च अधिकारीदेखि पूर्वराजासम्म सम्बन्ध छ । कसले मेरो हत्या गर्ने योजना बनायो होला त !’

‘हत्या’ नाम लेखेर फोन नम्बर सेभ गरे । त्यसबेलासम्म उनी डराएका थिएनन् । आफ्नो हत्याको योजना बनाउने को हुनसक्छ भनेर सोचिरहेका थिए । केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) का उच्च अधिकारीसँग सल्लाह गरे । आफ्नो टिमलाई तैनाथ राखे ।

त्यसपछि सुरु भयो बार्गेनिङ । सुरुमा प्रसाईं र धम्की दिने व्यक्तिबीच ह्वाट्एपमा चर्काचर्की नै हुन्छ । तर, प्रसाईं टसमस हुँदैनन्। उसले ‘आयु अब धेरै दिन छैन, अब धेरै दिन जाँदैनस्, कात्रो तयार पारेर राख्’ भनेर म्यासेज पठाउँछ ।

प्रसाईंले फोन सम्पर्क गर्न प्रयास गर्छन् । उसले रिसिभ गर्दैन । ‘के भन्नु छ म्यासेजमै भन्नुस्’ भनेर रिप्लाई गर्छ ।

त्यसपछि प्रसाईंले ‘पैसा तयार हुँदै छ, ५ करोड मात्र ल’ भन्छन् । प्रसाईंले ५ करोडभन्दा बढी नदिने अडान राख्छन् । लामाले ५० प्रतिशत मात्र डिस्काउन्ट गर्न सक्ने र १५ करोडसम्ममा कुरा मिल्न सक्ने बताउँछ ।

अन्तिममा ऊ ५ करोड बुझ्न तयार हुन्छ । सोमबार (हिजो) ५ बजे आजका लागि भेट्ने र पैसा लेनादेना गर्ने सल्लाह हुन्छ ।

उसले फेरि धम्कीको भाषामा भन्छ- काठमाडौंको कुनै पनि ठाउँमा हुन्छ । तयारी सबै पहिलेबाटै सकेका छौं । तपाईंले राम्रो गर्नुभयो भने राम्रै परिणाम हुन्छ । दायाँ बायाँ गर्नुभयो भने त्यही हो बुझ्नुभयो नि !

मंगलबार बिहान ७ देखि ८ बजेभित्र भेट्ने सल्लाह हुन्छ । प्रसाईंले ठाउँ सोध्छन् । उसले ‘ठाउँ भोलि दिन्छु, तपाईं रेडी भएपश्चात्’ भनेर म्यासेज पठाउँछ ।

आज बिहान ६ बजेर ३५ मिनेट जाँदै गर्दा लामाले म्यासेज गर्छन्- रेडी हुनुभयो ?

प्रसाईं सबै हिसाबले तयार थिए । झोलामा भने पैसा थिएन । अरु नै सामान थियो । आफ्नो सुरक्षा टोली र केन्द्रीय अनुसन्धान विभागको टोलीसहित प्रसाईं महाराजगन्जमा लामाले बोलाएको ठाउँमा पुगे । प्रहरीले सतर्कतासाथ फिरौती रकम बुझ्न आएका रमेश गुरुङलाई पक्राउ गर्‍यो ।

सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार २५-३० करोडबाट बार्गेनिङ थालेका लामाले अन्तिममा ५ करोड रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएका थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार गुरुङ ९ वर्ष साउदी अरब बसेर फर्किएका हुन् । लामालाई खोज्दै गएको प्रहरीले खोटाङको रावा बेँसी १ नम्बर वार्ड घर भएका गुरुङलाई पक्राउ गरेपछि रकम असुलीमा गिरोह नै परिचालित भएको अनुमान गरिएको छ ।

व्यवसायी प्रसाईं आफूले मजदुर, किसान र सीमान्तकृत वर्गको पक्षमा आन्दोलन र महाअभियान सुरु गरेपछि हतोत्साहित भएकाहरुले हत्याको योजना बनाएको बताउँछन् । ‘मसँग जसले रकम माग गरेको थियो, त्यो पक्राउ परेको छैन,’ उनले भने, ‘तर जसरी योजना बुनिएको छ, यसले ठूलो गिरोह नै लागेको स्पष्ट हुन्छ ।’


डीआर आचार्य