महानगरप्रमुख बालेनको सक्रियतामा सेनाले २० बर्षपछि खोल्यो सडक



काठमाडौँ । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मुल सडकसँग जोडिने सडक खुला भएको छ ।

जग्गा एकीकरण आयोजना सञ्चालनको २० बर्षे अवधिमा सडक खुल्न सकेको थिएन । अहिले सडक खुले पछि उपभोक्ताहरुमा खुशीको सञ्चार भएको छ ।

‘२०७९ साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा ब्यवस्थापन उपसमितिका संयोजक वालेन्द्र शाह (बालेन) ले फिल्ड निरीक्षण गर्नुभयो । नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधान सेनापतिसँग भेटेर समाधानका लागि छलफल गर्नुभयो । यसपछि सडक खोल्ने वातावरण तयार भयो ।

अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मुल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ ।’ आयोजना प्रमुख निर्मलराज बरालले भने ।

काठमाडौँ महानगरपालिका वडा नं. १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भु भगवान पाउ वनस्थली सडक, उत्तरमा वालाजु–वनस्थली चक्रपथ (ट्र्याक रोड) र दक्षिणमा स्वयम्भू-भगवान पाउ-विजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा छ ।

२०६० साल बैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट सूचना जारी भयो । यसपछि सहरीकरणबाट बिकास व्यवस्थापन र सुबिधा वितरणमा समानता ल्याउन आयोजनाभित्रको ७२ प्रतिशत प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्याएर जग्गा विकासको काम थालिएको हो । यसमा २४.४७ प्रतिशत सडकका लागि, २ प्रतिशत पार्क तथा खुल्ला क्षेत्रका लागि, ०.५० प्रतिशत धार्मिक तथा सांस्कृतिक क्षेत्रका लागि र १.०३ प्रतिशत भचाखुशी नदीका छुट्याइएको छ ।

आयोजना सुरु हुनु अघि त्यस क्षेत्रमा निजी प्रयोगकर्ताको जग्गाले ९२.४२ प्रतिशत भाग ओगटेको थियो । सडकले ४.६५ प्रतिशत, कुलोले १.१५ प्रतिशत, पर्ती जग्गाले ०.३१ प्रतिशत र भचाखुशी नदी १.४७ प्रतिशत क्षेत्र ओगटेको थियो ।

जग्गा विकास गर्ने क्रममा प्रत्येक जग्गा धनीबाट सेवा शुल्क वापत् समानुपातिक प्रतिशतका दरले योगदान लिइएको छ । यो दर भनेको खुल्ला क्षेत्र वापत् २.५ प्रतिशत, पूर्वाधार निर्माण वापत ५ प्रतिशत, बाटो वापत् ३.३५ प्रतिशत प्रति मिटर सडक र कर्नर प्लटका लागि थप योगदान २.७५ प्रतिशत देखि ९.६ प्रतिशत हो ।


क्लिकमान्डु