एमालेले जे बोल्यो, रास्वपाको भाष्य त्यही हो भन्ने जालसाजीपूर्ण क्रियाकलाप भयो: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेले प्रतिनिधिसभामा रास्वपाको अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी आफ्ना कुराहरू समेत राख्न नदिइएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबारको प्रतिनिध सभा बैठकमा सभापति लामिछानेले प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको विषयमा प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको कुरा पनि त्यही हो भन्ने भाष्य बनाइएको भन्दै दुख व्यक्त गरे । उनले रास्वपाका आफ्नै अडानहरू रहेको बताए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै उनले भने, ‘रास्वपा प्रतिपक्षको भूमिकामा छ । हामी प्रतिपक्षमा हुनुका पनि आफ्ना मुद्दाहरू छन् । रास्वपा अरू कुनै दलको एजेण्डामा होइन, आफ्नै स्वतन्त्र अस्तित्व र मुद्दाहरूमा उभिएको छ । हामीमाथि प्रमुख प्रतिपक्ष(एमाले) ले जे बोल्यो, रास्वपाको भाष्य त्यही हो भन्ने किसिमको जालसाजीपूर्ण क्रियाकलाप भयो, यसमा हाम्रो आपत्ति छ । म यो कुरा सदनलाई स्मरण गराउन चाहान्छु ।’
उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसको खुलेर जवाफ दिनुपर्ने बताए । उनले तीन दलले मात्रै मिलेर संसद्लाई बन्धक बनाउन खोजिएको बताए ।