मिटरब्याजको जालो: साढे ३ लाख ऋण, ६७ लाखको तमसुक, अदालतबाट १ करोडभन्दा बढी बिगो फैसला
काठमाडौं । मिटरब्याजी समस्या सरकारलाई टाउको दुखाइको विषय बनेको छ । मिटरब्याजी समस्या समाधान गर्न सरकारले ल्याएको विधेयक पनि सदनबाट पास हुन नसक्दा निष्क्रिय बनिसकेको छ । तराईमात्रै उजागर भएको मिटरब्याजी समस्या अन्य ठाउँमा पनि रहेको तथ्य बाहिरिएको छ ।
सिन्धुपाल्चोकका कृष्ण तिमिल्सिना र धादिङकी नविना तामाङले रोल्पाका विभिन्न व्यक्तिलाई रकम सापटी दिई सापटी दिएको रकमभन्दा बढीको तमसुक बनाएर असुल गर्ने गरेको तथ्य बाहिरिएको हो । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. ७ स्थायी ठेगाना भएका तिमिल्सिनाले दिएको भन्दा धेरै रकमको तमसुक बनाउने, सुरक्षणको लागि बढी रकमको चेक माग्ने र सोही आधारमा मुद्दा हालेर रकम असुल गरिरहेको पीडितहरुले बताएका छन् ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले तिमल्सिनाले आफूहरुलाई कानुनी रुपमा फसाउने काम गरेको आरोप लगाए । तिमिल्सिनाले रोल्पा जिल्ला, डुङ्ग्री गाउँपालिका वडा नं. ५ का श्रवण रोकालाई ८ वर्ष पहिले ३ लाख ५२ हजार रुपैयाँ ऋण दिएकोमा उक्त रकम ३ वर्षभित्रै १५ लाख ८० हजार तिर्दा पनि कपाली तमसुक र २८ लाखबराबरको चेक फिर्ता नगरेको उनीहरुको दाबी छ ।
तिमिल्सिनाले पीडित रोकालाई उल्टै अपहरण गरेर ६७ लाखको कपाली तमसुक बनाएर मुद्दा चलाएको उनीहरुको आरोप छ । अहिले उक्त कपाली तमसुकको विरुद्धमा परेको मुद्दामा अदालतले फैसला गरिसकेको छ । उक्त ६७ लाखको कपाली तमसुकको मुद्दामा अदालतले १ करोड ७ लाख ९९ हजार ७४६ रुपैयाँ बिगोको फैसला गरिसकेको छ ।
अहिले आफ्नो सम्पत्ति लिलाम प्रक्रियामा रहेको पीडितहरुले बताए । साथै, रोकाले दिएको २८ लाखको चेक अनादर मुद्दा विचाराधीन छ ।
त्यसैगरी रोल्पा सुनछहरी गाउँपालिका–२ का रमेशकुमार बुढालाई पनि तिमिल्सिनाले परिबन्धमा पारेर विभिन्न झुटा मुद्दा लगाएको उनीहरुको आरोप छ । पीडितहरुले बताएअनुसार तिमिल्सिनाले ८ वर्षअघि रमेशलाई १५ लाख ८४ हजार रुपैयाँ सापट दिएका थिए ।
रमेशले ३ वर्षमा पटक-पटक गरी ४० लाख फिर्ता गर्दा पनि तिमिल्सिनाले कपाली तमसुक नच्यातेको र सुरक्षणका लागि दिइएको चेक फिर्ता नदिएको उनीहरुको आरोप छ । तिमिल्सिनाले सोही प्रमाणको आधारमा मुद्दा चलाउँदा उनलाई अदालतले २ वर्षको कैद सजाय तोकेको छ । त्यस्तै चेक अनादर मुद्दा भने अदालत पाटनमा विचाराधीन छ ।
रोल्पाकै रोल्पा नगरपालिका प्रथम रोकाले तिमिल्सिनासँग १ लाख रुपैयाँ ऋण लिएर ५ लाखको कपाली तमसुक बनाएको पीडितको आरोप छ । पीडितले बताएअनुसार १ वर्षभित्र २ लाख फिर्ता गर्दा पनि तिमिल्सिनाले कपाली तमसुक नच्यातेर मुद्दा हालेर दुःख दिएका छन् ।
रोल्पाको सुनिल स्मृति गाउँपालिकाका शेरबहादुर महराले उनै तिमिल्सिनासँग बोलेरो जिप धितो राखेर ७ लाख रुपैयाँ सापट लिएको पीडितको दाबी छ । उक्त समयमा सुरक्षणका लागि १४ लाखको कपाली तमसुक बनाइएको पीडितको भनाइ छ । सावाँ, व्याजसहित नगद फिर्ता दिएर धितोमा राखेको बोलेर गाडी फिर्ता लिँदा पनि कपाली तमसुक फिर्ता नदिई त्यसैको आधारमा मुद्दा चलाएको उनीहरुको आरोप छ ।
रोल्पाकै जयप्रकाश बुढालाई ८ वर्ष पहिले २ लाख ऋण दिएर सुरक्षणका लागि ४ लाखको कपाली तमसुक बनाएको र पछि म्याद सकियो भनि झुक्याएर ३१ लाखको तमसुक बनाएर त्यसैको आधाराम मुद्दा चलाएको पीडितहरुको आरोप छ ।
रोल्पाकै थमन बुढामगरले धादिङकी नविना तामाङसँग १० लाख सापट लिएकोमा १३ लाख फिर्ता गर्दा पनि कपाली तमसुक नच्यातेर मुद्दा हालेको उनीहरुको आरोप छ । थमन र नविनाको मुद्दा अहिले विचाराधीन छ ।
आफूहरुले ऋण, सापटी लिएको पैसाको प्रचलित कानुनभन्दा बढी सावाँ व्याज तिरिसक्दा पनि कपाली तमसुक र सुरक्षणका लागि लिइएको चेकको आधारमा मुद्दा हालेर दुःख दिने काम गरेको भन्दै उनीहरुले सम्बन्धित निकायको ध्यानाकार्षण गराएका हुन् ।