गृहमन्त्री श्रेष्ठ र बालेनबीच ‘डिनर’ वार्ता, के भयो कुराकानी ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच खानपानसहित भेटवार्ता भएको छ ।

गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालबाट मेयर शाहसँग भेट भएको बारे सार्वजनिक गरेका हुन् । उनले आइतबार राति सामाजिक सञ्जालमार्फत मेयर शाह तथा उनको टीमका साथीहरुसँग भेटघाट भएको उल्लेख गरेका छन् ।

‘हिजो काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुद्दामा महत्पूर्ण छलफल भयो,’ गृहमन्त्री श्रेष्ठले लेखेका छन्, ‘उहाँको टिमका प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो । छलफललाई निरन्तरता दिने समझदारी बनेको छ ।’

महानगरका मेयर शाह र उनीबीच देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने समान सोच रहेको पाएको उनको भनाइ छ । ‘देश र जनताका पक्षमा मिलेर परिणााममुखी काम गर्ने हाम्रो समान सोच रह्यो’ उपप्रधानमन्त्रीको भनाइ छ ।

महानगरका मेयर शाहले विगतमा सरकारले आफूलाई सहयोग नगरेको भन्ने आरोप पटक पटक लगाएका थिए । गत चैतमा सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै उनले गृहमन्त्रालयमा नारायणकाजी श्रेष्ठ नै गृहमन्त्री रहेको बेला अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी, ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको जस्ता विषयहरु उठाएका थिए । शनिबारको भेटबाट भने मेयर शाह र गृहमन्त्री श्रेष्ठबीच समझदारी भएको श्रेष्ठले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।


क्लिकमान्डु