गाईभैंसी पालनबाट मासिक ३ लाख आम्दानी, राजकुमार भन्छन्: काम गर, सफलता पछि–पछि आउँछ



सिन्धुपाल्चोक । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् । वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेसामा आकर्षित भएका हुन् ।

विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनको गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् ।

लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको बताए । “आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?”, उनले भने ।

देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे । र, उनी मलेसिया हुइँकिए ।

उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन् । “मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु”, उनले भने ।

मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन । र, फेरि उनी कतार गए । कतारमा उनले विमानस्थलमै काम पाए । तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उनी फेरि स्वदेश नै फर्किए।

घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई गए । दुबईमा पेट्रोलपम्पमा काम पाए । तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कँदा जम्मा पाँच लाख रुपैयाँ लिएर फर्किएको बताए ।

७५ लाखको लगानी

गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर ७५ लाख रुपैयाँको लगानी रहेको बताए ।
दूध बोक्नलाई बोलेरोसमेत किनेका उनले लक्ष्मी बैंकबाट ६० लाख रुपैयाँ ऋण लिएको बताए ।

“मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख ऋण लिएको छु । ३५ लाखको वस्तुमात्रै छन्”, उनले भने । सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउँछन् । “सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो”, उनले भने । अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उनको हिम्मतले आज सफलता र खुसी बनाएको छ ।

विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक तीन लाख आम्दानी गर्छन् । गाईवस्तुको आहारबाहेक उनको मासिक डेढ लाख रुपैयाँ बच्छ ।

“महिनामा तीन लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि”, उनले भने । पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँछन् उनी । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउँछन् ।

आफ्नै उत्पादन आफ्नै व्यापार

राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उनी दूध बेच्ने पनि गर्छन् । उनको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उनले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन् ।

उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उनलाई छैन । दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उनको गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट उनी पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउँछन् ।

जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष सङ्घर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौँका गल्ली–गल्लीमा सङ्घर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै मुहारमा खुसी छाएको हो ।

सुरुमा पाँच लाख लगानी गरेर कुखुरापालनसमेत गरेका उनी हतार र हतास हुन नहुने बताउँछन् । सफलता मानिसको पछि– पछि आउने गरेको उनको भनाइ छ । “हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ”, ढकालले भने ।


क्लिकमान्डु