कृषिको सहुलियतपूर्ण ऋण दुरुपयोग भइरहेको विषयमा गम्भीर बन्न राष्ट्र बैंकलाई महाअभियानको चेतावनी



काठमाडौं । नागरिक बचाउ महाअभियानले आफूले जारी गरेका कानुन कार्यान्वयन उल्लंघन भइरहेको विषयमा गम्भीर बन्न नेपाल राष्ट्र बैंकलाई सजग गराएको छ । महाअभियानले आज विज्ञप्ति जारी गरी बैंकसम्बन्धी ऐन नियम उल्लंघन भइरहँदा पनि राष्ट्र बैंक मौन रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

केन्द्रीय सचिवालयले जारी गरेको विज्ञप्तिमा बैंकहरुले ऋण प्रदान गर्दा सम्झौता उल्लंघन गरेको तथा मनपरी ढंगले ब्याज बढाउँदा पनि राष्ट्र बैंक मौन बसेको भन्दै अनुमगनका लागि आकर्षण गराएको छ ।

नेपाल राष्ट्र बंैकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई संशोधनसहित जारी गरिएको एकीकृत निर्देशन २०७९ पालनाका विषयमा किन अनुगमन नभएको ? भन्दै महाअभियानले प्रश्न पनि गरेको छ ।

सहुलियतपूणर् कृषि ऋण लिएर बैंकका सञ्चालकले काठमाडौंमा होटल बनाएको र वास्तविक कृषकले कृषि ऋण नपाएकोमा पनि आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘वाणिज्य बैंक र विकास बैंकले प्रवाह गर्ने कुल ऋणको १५ प्रतिशत रकम सीमान्तकृत, गरिब, सर्वहारा वर्ग र किसानलाई २ प्रतिशत ब्याजदरमा अनिवार्य लगानी गर्नुपर्ने प्रावधानविपरीत बैंक सञ्चालक र विचौलियालाई लगभग १५ खर्ब रुपैयाँ सहुलियतपूणर् ऋण दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सो ऋणको उद्देश्यअनुसारको काम नभएको र दुरुपयोग गरी काठमाडौंमा होटल बनाएको, जग्गामा लगानी गरिएको तथा विदेश पठाउनेसम्मको काम भएको छ ।’

खर्बौं रुपैयाँको यही आर्थिक अपचलनका कारण लघुवित्त र सहकारीको चक्रवर्ती ब्याजमा परेर धेरै मानिस आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेकोप्रति पनि गम्भीर बन्न महाअभियानले सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

यसको सुनुवाइ नभएमा जनता आफैं सडकमा उत्रेर कारबाही अगाडि बढाउने सक्ने अवस्था सिर्जना हुने महाअभियानले चेतावनी दिएको छ । महाअभियानको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका छन् । विज्ञप्ति केन्द्रीय सचिवालयका नाममा जारी गरिएको छ ।


क्लिकमान्डु